तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको विकास र सुशासनको एजेण्डा कार्यान्वयनमा भूमिका खेल्न राष्ट्रबैंकलाई राष्ट्रपतिको सुझाव

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुले आम जनताबाट संकलन गरेको बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गरी मुलुकमा रहेको मानवीय साधन र प्राकृतिक स्रोतका साथै व्यवसाय प्रवर्द्धन गर्न राष्ट्र बैंकले भूमिका खेल्नु पर्नेमा जोड दिनुभएको छ ।
भुकम्पले भत्किएको बालुवाटारस्थित राष्ट्र बैंक भवनको सोमबार शिलान्यास गर्नुहुुँदै राष्ट्रपति भण्डारीले राष्ट्र बैंक स्वायत्त संस्था भएपनि सरकारले अगाडि सारेका विकास र सुशासनका एजेण्डालाई कार्यान्वयनमा लैजाने गरी आफूलाई परिचालित गर्नुपर्ने बताउनु भयो ।
“कृषि, उद्योग, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको छिटो आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।”
अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले आफ्नो स्वायत्तताको प्रयोग जवाफदेही ढंगले गर्नुपर्नेमा जोड दिदैँ सम्पूर्ण वित्तीय प्रणालीको अभिभावकत्व राष्ट्र बैंकको जिम्मेवारी भएकाले वित्तीय प्रणाली आधुनिकीकरण गरेर लैजानुपर्ने बताउनुभयो । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अभिभावकत्व लिने क्षमता बिकास गर्दै अगाडि बढ्न र बैंकले स्थानीय तहमा गएर सबै जनताको पहँचमा बैकिङ सेवा उपलब्ध गराउनुपर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
राष्ट्र बैंकका गर्भनर चिरिञ्जीवी नेपालले सुरक्षित र आधुनिक बैकिङ प्रणालीमा जोड दिदै स्थानीय तहमा बंैकको विस्तार गर्दै सबै नागरिकको बैक खाता खोल्ने अभियानलाई तीव्रता दिएको जानकारी गराउनु भयो ।
पुनःनिमार्ण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आधुनिक, सुरक्षित र भुकम्पले असर नगर्ने गरी राष्ट्र बैंकको भवन निर्माण गर्न लागिएको जानकारी गराउनु भयो ।
कूल रु. दुई अर्ब आठ करोडको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।
–––

प्रतिक्रिया राख्नुहोस्

Back to top button