तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कारका घटना बढेपछि प्रहरीद्वारा विद्यालयमा सचेतना अभियान

भद्रपुर । झापासहित देशभरका बाल बालिकामाथि हुने बलात्कार लगायत अन्य आपराधिक घटनाहरू बढेसँगै यसको न्यूनीकरण तथा रोकथामका लागि नेपाल प्रहरीले झापामा विद्यालयस्तरीय सचेतनामूलक अभियान शुरु गरेको छ ।
बलात्कारका घटनासम्बन्धी उजुरी जिल्लाका प्रहरी कार्यालयहरूमा धमाधम पर्न थालेपछि प्रहरी कार्यालय झापाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका बालबालिकाबीच अपराध न्यूनीकरण र त्यसबाट बच्ने उपायसम्बन्धी सचेतनामूलक अभियान थालेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो ।
यसै क्रममा प्रहरी कार्यालय झापाको आयोजना तथा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको सहआयोजनामा भद्रपुरका दुई निजी विद्यालय प्रज्ञा एकेडेमी विभूति विद्या मन्दिरका कक्षा १२ मा अध्ययनरत छात्रछात्रालाई अपराध न्युनीकरण तथा रोकथाम सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ ।
कार्यक्रमको सहजीकरण गर्दै प्रहरी कार्यालय झापाका एसपी मैनालीले समाजमा हुने अपराध न्यूनीकरणका लागि प्रहरी टोल–टोलमा खटिन थालेको बताउँदै पछिल्लो समयमा समाजको शान्ति सुव्यवस्था कायम गर्न प्रहरी सफल भएको उल्लेख गर्नुभयो । तर, शान्ति–सुरक्षा कायम गर्न प्रहरी सफल हुँदाहुँदै पनि गाउँघरमा अहिले पनि बालबालिका र महिलामाथि हिंसात्मक घटना नरोकिएको उहाँले बताउनुभयो ।
प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७५÷०७६ को असार २१ गतेसम्म झापामा १२७ जना बालबालिका, महिला र बृद्धा बलात्कृत भएका छन् भने ४२ जनामाथि बलात्कारको प्रयास भएको उजुरी दर्ता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button