तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य

रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन् ।

गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । मगर खाम भाषामा मिको अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा भन्ने बुझिन्छ । अहिले भेटिएकामध्ये सबैभन्दा ठूलो यस गुफाभित्र ५० जना अटाउन सक्ने ठाउँ रहेको छ । यस गुफामा केराको घरीका जस्ता आकृति र चमेरा पनि थुप्रै रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी गुफामा मनै लोभ्याउने खालका कलाकृति देख्न सकिने पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का वडाध्यक्ष गङ्गाबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार जमीन सतहबाट २५ मिटरभित्र पसेपछि मात्र गुफाको सतह भेटिन्छ ।

यस गुफामा खुट्टा डुबाउने खालको पानी रहेको पनि उहाँले बताउनुभयो । त्यसैगरी नजिकै अर्को गुफा रहेको छ । त्यस गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ । त्यस गुफामा सुनको जस्तै रङमा विभिन्न आकृति भेटिएका छन् । जुन गुफामा भित्र प्रवेश गरेपछि सुनैको महलमा छिरेझै आभास हुने गर्दछ । जता हेरे पनि सुनजस्तै पहँेला चम्किने बिरुवाको पातको आकृतिले मनै लोभ्याइदिन्छ । त्यसैगरी अर्को गुफा रहेको छ, त्यस गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ । जहा चाँदीको जस्तो रङमा कुदिएका अकृति तथा गुफा नै चाँदीको रङमा देख्न सकिने अध्यक्ष बुढाले बताउनुभयो । यस गुफाको एउटा अचम्मको विशेषता रहेको छ ।

गुफाभित्र केही वस्तु राखियो भने केही वर्षभित्रै त्यो चिजलाई पनि चट्टानले विस्तारै छोपिदिने र त्यस वस्तु पनि चट्टानझै देखिन्छ । गुफाभित्र कुनै पनि चिज राखेर त्यसलाई आफूले भनेजस्तै चट्टानमा परिवर्तन गर्न सकिने सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ । चाँदी कुङबाट निस्केको पानी अहिले एउटा सानो झरना बनेर उत्तरगङ्गामा मिसिएर बगिरहेको छ ।

यी गुफालाई स्थानीयले पहिले पनि देखेको तर यसतर्पm त्यति चासो नदिएका कारण यसको बारेमा कसैले थाहा पाउन सकेका थिएनन् । तर, स्थानीय सरकार र अहिलेका युवाहरुले यी गुफाको बारेमा चासो दिएर खोजीनीति गर्न थालेपछि गुफाहरुको यो रहस्य खुल्न गएको स्थानीयवासी बताउँछन् । कोल गाउँभन्दा तलतिर गुफाहरु रहेका छन् । तर, ती गुफामा पुग्नका लागि धेरै वर्ष पहिले गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको स्थानीयवासीको दाबी छ ।

कोलका भुपू प्रधानपञ्च ६९ वर्षीय गनबहादुर पुनले धेरै वर्ष अगाडि शिकारीले लखेटेको मृग यी तीन गुफाभन्दा दुई किलोमिटर माथि रहेको ‘निम कुङ’ नाम गरेको गुफाबाट छिरेको र त्यस मृगलाई लखेट्दै गएको कुकुुर एक हप्तापछि दुई किलोमिटर तल अहिले भेटिएको गुफाबाट बाहिर निस्किएको किंवदन्ती रहिआएको सुनाउनुभयो । निमको अर्थ मगर खाम भाषामा भालु हो । यस गुफामा भालु लुक्ने भएकाले निम कुङ नाम राखिएको स्थानीयवासी हिक्मत प्रतेलले बताउनुभयो । यो गुफामा पनि उज्यालोको सहायताले २५ मिटरभित्र जान सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button