तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा नयाँ पदमार्ग निर्माण

पर्वत-जिल्लाका करिव एक दर्जन पर्यटकिय क्षेत्र समेटेर नयाँ पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण पदमार्ग संग जोड्ने गरि देउपुर– घोडेपानी पदमार्ग निर्माण गरिएको हो । मोदी गाउँपालिकामा पर्ने देउपूर, भूकदेउराली, ताङले, भवरकोट, लेस्पार, घुरुंगा, विरेठाँटी, लप्सीबोट, पूर्णगाउँ, देउराली लगायतका गाउँ समेटेर नमूना पदमार्ग निर्माण गरिएको हो ।

२१ किलोमिटर लामो दुरीको यो पदमार्ग म्याग्दीको घोडेपानी पुगेर टुगिंन्छ । चर्चित अन्नपूर्ण पदमार्ग संग जोडिने गरि निर्माण गरिएको यो पदमार्ग धेरै बस्ती र पर्यटकिय क्षेत्र समेट्ने पदमार्ग हो ।संघीय र गण्डकी प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरिएको भमरकोट पर्यटन विकास समितिका अध्यक्ष मनवहादुर खड्काले जानकारी दिनुभयो । पदमार्ग निर्माणमा ४५ लाख रुपैयाँ लगानी भएको छ ।

अन्नपुर्ण संरक्षण क्षेत्रको पदयात्रामा बर्सेनी हजारौं विदेशी पर्यटक आउँछन् । कास्कीको नयाँपुल, वीरेठाँटी, घान्द्रुुक हुँदै पर्वतको हम्पालसम्म पुगेर म्याग्दीको नागी र घोडेपानीक्षेत्र विदेशीका लागि चर्चित गन्तव्य हो । भमरकोटलाई घान्दु्रक र पुनहिल आउने पर्यटकसम्म प्रचार गरी यो रुटलाई वैकल्पिक पदमार्गको रूपमा विकास गर्न सकिने खड्काले बताउनुभयो । पदमार्ग निर्माण पश्चात पर्यटकिय संभावना रहेका गाउँमा रोजगारी र आर्थिक उपार्जनका बाटो खुल्ने मोदी गाउँपालिका– २ का वडाध्यक्ष विकास तिमिल्सीनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button