तपाईँ सुन्दै हुनुहुन्छः

आन्दोलन गरे फेल गराउने चितवन मेडिकल कलेजको धम्की

चितवन। नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित बनेका छन् । सरकारले तोकेभन्दा १२ लाखदेखि २५ लाख रुपैयाँसम्म बढी शुल्क कलेजले माग गरेको विद्यार्थीहरुले जनाएका छन् ।
कलेजमा एमबिबिएस पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका हुन् । उनीहरुले कलेज प्रशासनले बढी लिएको शुल्कको रसिद नदिने, चेक मार्फत् भक्तानि नलिने र नगदै बुझाउनु पर्ने बाँध्यता रहेको बताए । विद्यार्थीहरुले भरतपुरस्थित मेडिकल कलेजको अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको जुलुस चौबीसकोठीसम्म पुगेको थियो । उनीहरुले शुल्क बढी लिन पाईदैन, बढी लिईएको शुल्क फिर्ता गर, मेडिकल माफिया मुर्दाबाद जस्ता नारा लगाएका थिए ।
स्वतस्फूर्त रुपमा आन्दोलित विद्यार्थीहरुले मन्त्रालयले विगतमा गरेको सम्झौता विपरित कलेजले शुल्क असुल गरिरहेको आरोप लगाएका छन् । एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी करण चौधरीले सरकारले तोकेको ४२ लाख मध्ये २१ लाख रुपैयाँ शुरुमै बुझाएको र भर्नाको समयमा थप ६ लाख रुपैयाँ रसिद बिना नगदै बुझाएको बताए । उनका अनुसार २७ लाख रुपैयाँ बुझाएको भए पनि अहिले कलेजले थप २७ लाख रुपैयाँ माग गरिरहेको छ ।
१२ देखि २५ लाख अवैध असुल
तर, मेडिकल कलेजले बिना रसिद विद्यार्थीबाट अवैध शुल्क असुलिरहेको छ । कलेज प्रशासनसँग शुल्कको कुरा गर्दा उल्टै धम्क्याउने गरेको विद्यार्थीले बताए । एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुविन साह भन्छन्–‘हामीलाई कलेजले चरम अन्याय गरेको छ, यसको विरुद्ध आन्दोलित भएका हौं ।’
उनले थपे–‘आईओएमले पुरक परीक्षा शुल्क दुई हजार पाँच सय रुपैयाँ तोकेको छ तर कलेजले पाँच हजार असुलिरहेको छ । यसको विरुद्ध बोल्दा उल्टै कलेजले धम्क्याउँछ, माग पूरा नभएसम्म आन्दोलन रोकिंदैन ।’
आन्दोलन गरे फेल गराउने धम्की
तेस्रो वर्षमा अध्ययनरत अर्का विद्यार्थी वसन्त साहले परीक्षाका बेला पैसा माग्ने र मानसिक तनाव दिने गरेको बताए । कलेजको अत्याचारविरुद्ध ¥याली निकाल्न खोज्दा परीक्षामा फेल गर्ने धम्की दिएको उनले आरोप लगाए । कलेज प्रशासनले अभिभावकलाई फोन गरेर विद्यार्थी फेल गरिदिने, परीक्षामा सहभागी हुन नपाउने जस्ता तनाव दिने गरेको विद्यार्थीहरुले बताए ।
विगतमा विद्यार्थीहरुले आन्दोलन गरेपछि शिक्षा मन्त्रालयले गत चैत ७ गते विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्न कलेजलाई निर्देशन दिएको थियो । तर, सरोकारवालासँगको सहमतिपछि मन्त्रालयले दिएको निर्देशनले तीन महिना पार गर्दा पनि कार्यान्वयन भएको छैन । मन्त्रालयले विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयको प्रतिनिधिको रोहबरमा शुल्क फिर्ताको अनुगमन गर्ने निर्णय पनि गरेको थियो । परीक्षा, इन्टर्र्न्सिप, भर्ना, रजिष्ट्रेसन, पुस्तकालय, फिल्ड भिजिट, डेभलपमेन्टलगायत शीर्षक राखेर कलेजहरूले सरकारले तोकेभन्दा दुई गुणा बढीसम्म रकम लिने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका मेडिकल कलेजहरूले एमबिबिएस, बीडीएस लगायत मेडिकल शिक्षाका अन्य विषयमा विद्यार्थीसँग तोकेभन्दा लाखौं बढी रकम उठाएर ठगी गर्दै आएको विद्यार्थीहरुको आरोप छ । मन्त्रालयले नेपाल मेडिकल काउन्सिलसहित दुवै विश्वविद्यालयलाई रकम फिर्ता गर्न पत्राचार गरे पनि मेडिकल कलेज सञ्चालकहरुले टेरपुच्छर लगाएका छैनन् ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले आफू अस्पतालको इमर्जेन्सीमा हेड इन्जुरीको बिरामी हेरिरहेको बताउँदै यस सम्बन्धमा कलेजका प्रिन्सिपल अरुण कोईरालालाई सम्पर्क गर्न भने । कलेजका प्रिन्सिपल कोईरालालाई यस सम्बन्धमा पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । अस्पतालका व्यवस्थापक पारस अधिकारीले विद्यार्थी आन्दोलनका बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button