तपाईँ सुन्दै हुनुहुन्छः

अनावश्यक प्रभावमा नपर्न र कुनै लबिङ नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक कुराको प्रभावमा नपर्न र कुनै प्रकारको लबिङ नगर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,“शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ । जायज कुराका लागि कसैसँग शिर झुकाउनु पर्दैन । नाजायज कुरा कसैले पनि गर्नु हुँदैन । अनावश्यक कुराका लागि कुनै प्रभावमा नपर्नुहोला । त्यस्तो लबिङ सुनिँदैन ।”
विश्वविद्यालयसभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभयो । उहाँले, प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आह्वान गर्नुभयो ।

त्रिविका कुलपतिसमेत रहनुभएका उहाँले त्रिवि विश्वका उत्कृष्ट एक हजारभित्र र एशियामा उत्कृष्ट ३०० भित्र पर्न सफल भएकामा खुशी व्यक्त गर्दै बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “शिक्षा क्षेत्र सामाजिक परिवर्तन र आवश्यकताअनुरुप प्रभावित हुँदै आउने भएकाले वर्तमान समयमा शिक्षाको तौरतरिका, माध्यम र शिक्षा प्रवाहका क्रममा व्यवस्थापन गर्नुपर्ने शैक्षिक वातावरणप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ ।”
प्रधानमन्त्री ओलीले नवनिर्मित त्रिवि उपकुलपतिको कार्यालय उद्घाटन पनि गर्नुभएको थियो ।
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको नेतृत्वले आफ्ना कमजोरी र त्रुटिको समीक्षा गर्नुपर्ने बताउँदै सङ्घीय र प्रादेशिक विश्वविद्यालयको वर्गीकरणपछि नयाँ ढङ्गले अघि बढ्नुपर्ने आग्रह गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “विश्वविद्यालय अब हिजोको तरिकाबाट चल्दैन । यो प्रतिस्पर्धी, सक्षम र उत्पादनशील जनशक्ति उत्पादनमा लाग्नुपर्छ ।”
विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले त्रिविले आफ्ना उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा प्रतिस्पर्धी, अनुसन्धानमुखी, उत्पादनमुखी बनाउन समयानुकूल पाठ्यक्रम निर्माण र परिमार्जनका लागि प्राथमिकता दिएको बताउनुभयो । शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले त्रिविमा व्याप्त रोगको उपचारका लागि दरो इच्छाशक्ति र निर्भीकता बोकेको व्यक्तिको खाँचो छ भन्नुभयो । बैठकमा रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको ५७ औँ ग्रेस लिष्ट पारित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button