तपाईँ सुन्दै हुनुहुन्छः

किशोर किशोरीको आकाङ्क्षालाई सम्बोधन गर्न सरकार लागिपरेको छ: प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किशोर किशारीको अपेक्षा र आकाङ्क्षालाई सम्बोधन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सकृय उमेर समूहका जनशक्तिले अतिकतम योगदान पु¥याउन सक्ने वातावरण बनाउन सरकार तल्लीन रहेको बताउनुभएको छ ।
विश्व जनसङ्ख्या दिवसको अवसरमा विहिबार शुभकामना सन्देश दिदैं प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘युवा जनशक्तिको बसाईसराईका प्रबृत्तिलाई नियमन गर्दै हामीले कामको खोजिमा बाह्य मुलुक जान लालायित यूवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र उनीहरुको क्षमता यहीं परिचालन गर्ने सोचका साथ काम हुन थालेका छन् । यस सन्दर्भमा सरकार किशोर किशारीको अपेक्षा र आकाङ्क्षालाई सम्बोधन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सकृय उमेर समूहका जनशक्तिले अतिकतम योगदान पु¥याउन सक्ने वातावरण बनाउन तल्लीन छ ।’
विश्व जनसङ्ख्या दिवसका अवसरमा प्रधानमन्त्रीले दिनुभएको सन्देश ः
आज जुलाई ११ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा संसारभर जनसङ्ख्या दिवस मनाइँदैछ । विश्व जनसङ्ख्या दिवसको यस अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्ष यस दिवसका अवसरमा जनसङ्ख्यासँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षहरुले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा पार्ने प्रभावका सम्बन्धमा हामी सबैको ध्यान विशेषरुपमा आकर्षित हुँदै आएको छ ।
यस वर्षको विश्व जनसङ्ख्या दिवसको अवसरमा म नेपाली जनसङ्ख्याको बर्तमान बिशेषता र चासोका विषयमा सचेत र सजग रहन सम्बन्धित सबैमा विशेष आग्रह गर्न चाहन्छु ।
नेपालमा शिशु तथा बाल मृत्यु दर र सबै उमेरका जनसङ्ख्याको मृत्यु दरमा आएको उल्लेख्य कमीका कारण औषत आयूमा वृद्धि भएको छ र श्रम शक्ति बहुल उमेरको उल्लेख्य उपस्थिति भएको अवस्था श्रृजना भएको छ । यस अवस्थालाई हामीले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि सदुपयोग गर्न सक्नु पर्दछ ।
बिगतका दशकको प्रजनन् दर घटाएर जनसङ्ख्या बृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका कारण समग्र जनसङ्ख्याको जीवनस्तरमा सुधार आएको छ । त्यही कारण जन्म दरमा आएको कमीलाई दृष्टिगत गर्दै आउँदा दिनमा प्रजनन्मा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान पु¥याउन आवश्यक रहेको देखिन्छ ।
एकातिर बालिकामाथि हुने लैङ्गिक विभेदमा कमी आउन थालेको देखिन्छ । तर अर्कोतिर छोरी शिशुप्रति गर्भमै वा जन्ममै बिभेद गर्न थालिएको लक्षण देखिन थालेको छ । नेपालको शिशु जन्मको लैङ्गिक अनुपातले हामीलाई यस विषयमा गम्भीर हुन सचेत गराउँद्छ । यस्तो अवस्थाले भविष्यमा जनसाङ्ख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति हामी सबै सचेत हुन जरुरी छ ।
ज्येष्ठ नागरिकहरूको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग छ । ज्येष्ठ नागरिकहरुको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा परेको छ । त्यसैगरी कुनै पनि प्रकारको बालश्रम र बालदुव्र्यवहारप्रति सरकारले शुन्य सहनशीलताको नीति अख्तियार गरेको छ । बालविवाहजस्तो बिकासको प्रतिफलको नकारात्मक सूचकमा परिवर्तन ल्याउन प्रयासहरु भइरहेका छन्, कुनै पनि प्रकृयाबाट हुने गरेका बालविवाहको रोकथामका लागि वर्तमान सरकार कटिवद्ध छ ।
युवा जनशक्तिको बसाईसराईका प्रवृत्तिलाई नियमन गर्दै हामीले कामको खोजिमा बाह्य मुलुक जान लालायित यूवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र उनीहरुको क्षमता यहीं परिचालन गर्ने सोचका साथ काम हुन थालेका छन् । यस सन्दर्भमा सरकार किशोर किशारीको अपेक्षा र आकाङ्क्षालाई सम्बोधन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सकृय उमेर समूहका जनशक्तिले अतिकतम योगदान पु¥याउन सक्ने वातावरण बनाउन तल्लीन छ ।
आजको विश्वमा हामी जनसङ्ख्या र स्वास्थ्य अनि जनसङ्ख्या र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौतिको सामना गरिरहेका छौं । तर हामी सही योजना र प्रभावकारी कार्यान्वयनबाट त्यस्ता चुनौतिहरुलाई परास्त गर्न अग्रसर छौं । दिगो विकासका लक्ष्यहरु हासिल गर्न जनसङ्ख्यालाई साधन र साध्य दुबैको रूपमा अंगीकार गरिएको छ ।
विश्व जनसङ्ख्या दिवसले हामी सबैलाई हाम्रा सामु रहेका जनसङ्ख्यासँग सम्बन्धित सवालहरुप्रति अझ बढी सचेत हुन प्रेरित गरोस । शुभकामना ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button