२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

रासस २०७६ असार २७ गते १०:२७

गाईघाट। निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।

तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताउनुभयो । बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताउनुभयो ।

स्थायीरूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि पटक–पटक विसं २०३१, २०३९ र २०५७ मा भत्किएको नगरपालिका–११ का ८१ वर्षीय महलशेर राई बताउनुहुन्छ । विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा परेको र धेरै स्थानीय बासिन्दा विस्थापित भएका थिए । स्थानीय सरकार र केन्द्र सरकारले स्थायीरूपमा पक्की बाँध निर्माण नगर्दा वर्षेनी बाँध भत्कँदै गएको र नदीले कटान गर्दै लगेपछि अहिले गाईघाटको शिवालयटोल, साकेलाटोल र गाईघाट बजारसहित दुई हजारभन्दा बढी घरहरु जोखिममा परेको गाईघाट सङ्गमटोलका स्थानीयवासी हर्कबहादुर बस्नेत बताउनुहुन्छ ।

नदीले बरुवा क्षेत्रको बाँध भत्काउन थालेपछि नगरपालिका– ११ को पहलमा बिहीबारदेखि दुई स्काभेटर र स्थानीयवासीको पहलमा नदीपारिको क्षेत्रबाट पानी खोल्ने कार्य शुरु भएको नगरपालिका–११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताउनुभयो ।

नदी कटान नियन्त्रण गर्न सशस्त्र प्रहरी, गाईघाटका नगर प्रहरी र जिल्ला प्रहरीले समेत सहयोग र निगरानी शुरु गरिसकेको र अब कटान कम हुने अवस्था आएको उदयपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तारजाली नष्ट भइसकेको र बाँध क्षेत्रका ढुङ्गासमेत हिउँदमा ट्र्याक्टर व्यवसायीले उत्खनन गर्ने गरेपछि वर्षेनी नदीले बाँध भत्काउँदै आएको र पुरानो बाँध मर्मत नहुँदा बाढी आउनासाथ शिवालयटोल, साकेलाटोलसहित गाईघाट बजारका दुई हजारभन्दा बढी घर बाढीको उच्च जोखिममा पर्दै आएका छन् ।

सम्बन्धित

दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

१ घन्टा अगाडि रेडियो नेपाल

थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

३ घन्टा अगाडि कल्पना दाहाल