तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध

ओखलढुंगा। सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुङ्गामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सिद्धिचरण लोकमार्ग क्षेत्रमा भदौरेखोलाको बाढीले सडकखण्डमा ढुङ्गा, बालुवालगायत अन्य वस्तु थुपारेपछि इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले साँझपख सडक खुलाए पनि फेरि गए राति पुरिएका कारण सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय सिरहा लहानलाई समेत खबर गरेर जेसिभी उपलब्ध गराउन पटक–पटक अनुरोध गरे पनि सडक कार्यालयले सुनुवाइ नगरेको र अहिले कटारी नगरपालिकाबाट एक जेसिभी झिकाएर भदौरेखोला खण्डमा अवरुद्ध सडक खुलाउने कार्यमा प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताउनुभयो ।

उदयपुरको कटारी–१४ स्थित सिद्धिचरण लोकमार्ग खण्डको बेतिनी र घुर्मीको बीचमा भदौरेखोलाको कारण र नयाँ सडक निर्माण गर्ने क्रममा थुपारिएका वस्तु बगेर सडकमा थुप्रिएका कारण सडक अबरुद्ध भएपछि खोटाङ, ओखलढुङ्गाबाट कटारी आउने र कटारीबाट खोटाङ तथा ओखलढुङ्गा जाने यातायातका साधन बीच बाटोमै रहेका छन् । प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको भए पनि निरन्तर वर्षाका कारण काम गर्न समस्या भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button