तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा

सुनसरी। सप्तकोशी नदीमा पानीको बहाव बढने क्रम जारी छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढिरहेकोे छ । सप्तकोशीमा शुक्रबार विहान ११ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १७६ हजार ७४५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।
फुयाँलका अनुसार, पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको छ । पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जानकारी दिएको छ ।
पानीको बहाव उच्च भएपछि सप्तकोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा बालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा बढी दबाब पर्ने गर्छ ।
लगातारको वर्षाका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मा पर्ने श्रीलंका टापुको चिलैया बस्तीमा कोशी कटान तीब्र भएको छ ।
कोशी नदीले पछिल्लो चार दिन यता दैनिक सरदर पाँच मिटरको दरले कटान गरिरहेको बराहक्षेत्र नगरपालिका– ६ का वडा सदस्य श्याम लिम्बुले जनाकारी दिनुभयो ।
लिम्बुका अनुसार, वर्षाका कारण चिलैया बस्तीका करीब ५० घरका डेढ सय परिवार जोखिममा परेका छन् ।
सरकारी निकाय र प्रहरी प्रशासनको कमै उपस्थिति हुने श्रीलंका टप्पु उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको बीचमा पर्दछ ।
निरन्तरको वर्षाका कारण सुनसरीको दक्षिणवर्ती क्षेत्र हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलका ४० घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयमा सुरक्षित राख्ने तयारी गरिरहेको छ । केही दिन पहिले सो स्थानमा नयाँबाटो निर्माण गर्दा पानीको निकास नभएर बस्ती डुबानमा परेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button