तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाएर झापामा २ को मृत्यु, १ बेपत्ता

झापा-अविरल वर्षासँगै आएको बाढीले बगाएर झापामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अर्का एक बेपत्ता भएका छन् ।
कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर शुक्रवार इलाम चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान १० बजे घरबाट हिँडेका लावतीको शव बाढीले बगाएर ल्याएको अवस्थामा स्थानीयले बेलुका साढे ५ बजेतिर फेला पारेका थिए ।

त्यस्तै, दमक नगरपालिका १० स्थित भालु खोलाले बगाएर स्थानीय ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको छ । दिउँसो १ बजेतिर घर नजिकैको कल्भर्टमा उभिएको अवस्थामा खोलाले बगाएकी उनलाई स्थानीयले उद्धार गरी दमकस्थित लाइफ लाइन अस्पताल ल्याएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै खोला तर्ने क्रममा हडिया खोलाको बाढीले बगाउँदा मेचीनगर नगरपालिका १४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता भएका छन् । अपरान्ह ४ बजेट भद्रपुर नगरपालिका ९ प्रणामीनगरस्थित हडिया खोला तर्ने क्रममा हस्दालाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । हस्दाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जलमग्न झापा

अविरल वर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न बनेको छ । कनकाई, विरिङ, कमल, रतुवा, मेची, देउनिया, आन्धुवालगायतका नदी तथा खोलामा पानीको बहाव उच्च भएको छ ।
सडक बगायो

भद्रपुरस्थित मेची पूलको पूवपट्टि भारतसँग जोडिने नेपालतर्फको अस्थायी ग्राभेल सडक पनि मेची नदीमा आएको बाढीले भत्काएको छ । शुक्रवार अपरान्ह सडक बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मेचीको बाढीले भारतीय सुरक्षाफौज एसएसबीको दशगजानजिकैको अस्थायी पोस्ट समेत डुबाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button