तपाईँ सुन्दै हुनुहुन्छः

नेपालद्वारा मलेशिया पराजित

काठमाडौँ । मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले सहज जित हात पारेको छ ।

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ।

क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा शनिवार भएको मलेशिया विरुद्वको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई जितको लागि १ सय २९ रनको चुनौती दिएको थियो ।

कूल १२९ रनको विजय लक्ष्य बोकेर मैदान उत्रेको नेपाल १८ दशमलव ३ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

नेपालको जितमा कप्तान पारस खड्काले नटआउट ८६ रनको अर्धशतकीय इनिङ् खेले । उनले ५० बल खेल्दै पाँच छक्का र आठ चौकाको मद्दतमा अविजित ८६ रनको योगदान दिएका हुन् ।

त्यसैगरी शरद भेषवाकरले अविजित १६ रन जोड्दा शुरुआती ब्याट्सम्यान प्रदीप ऐरीले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७ तथा रोहित पौडेलले ५ रन जोड्दै बाहिरिए ।

मलेशियाका लागि भिरन दिप सिंहले सर्वाधिक ५७ रनब नाए भने अहमेद फाइज मोहमद नुरले ४५ तथा मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

अब नेपालले मलेशिया विरुद्वको दोस्रो तथा अन्तिम खेल आइतबार खेल्नेछ ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रूपमा रहेको एशिया फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button