तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोमा परी ३७ जनाको मृत्यु, १८ बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३७ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएका छन ।

बाढी पहिरोमा परी १२ जना घाइते भएका छन भने ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्व राज पोखरेलले जानकारी दिनुभएको छ ।

बाढी पहिरोका कारण ओखलढुंगामा ५, काठमाडौं, खोटाङ, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोक मा ३–३ जना, भोजपुर, धादिङ, धनुषा र सिन्धुलीमा २–२ जना तथा पर्सा, रामेछाप, पाल्पा, ईलाम, झापा, सुनसरी, बारा, सप्तरी र चितवनमा १–१ जना गरी ३७ जनाको मृत्यु भएको हो ।

सिन्धुलीमा ६ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी हालसम्म १८ जना अझै वेपत्ता छन् ।

यसैगरी, मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवनमा १–१ जना,गरी हालसम्म १२ जना घाइते भएका हुन् ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोत साधन परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको र विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा ४२ , उदयपुरमा १० , ललितपुरमा ३ , सिन्धुलीमा ४, सिराहामा २ , भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

अबिरल वर्षासंगै ओखलढुंगाको मोलुङ गाउँपालिका ७ पात्ले तालकोटमा आज पहिरोले घर पुरिँदा स्थानीय ४४ वर्षिया फुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजी शेर्पाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ पुगेको प्रहरीलाई उदृत गर्दै हाम्रा संवाददाताले जनाएका छन् ।

धनुषामा बाढीबाट प्रभावित दुई हजारभन्दा बढी परिवार डुबानमा परेर सार्वजनिक स्थान र अग्ला ठाउँमा आश्रय लिएर बसिरहेका छन् ।

कमला नदीमा निर्माणाधीन पुलमा कार्यरत इन्जिनियरसहित १० जना कामदार बाढीका कारण अलपत्र परेपछि उनीहरुको उद्धारको प्रयास भयरहेको हाम्रा सम्वाददाता अजय झाले जनाएका छन् ।

बाढीले जनकपुर उपमहानगरपालिकाको अधिकांश वडाहरु जलमग्न भएका छन् ।

जनकपुरको विवाह मण्डप र रामजानकी विद्यालयमा २०० परिवार आश्रय लिएर बसिरहेका छन् ।

लगातारको वर्षाका कारण २० भन्दा बढी स्थानमा पहिरो खस्दा बिपी राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुबानले मध्य तराईको बारा, पर्सा, रौतहट लगायत जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

रतु र बिग्ही खोलाले बिभिन्न स्थानमा बाँध भत्काएकाले महोत्तरीको जलेश्वर, मटिहानी, बलवा, लोहरपट्टी नगरपालिका र महोत्तरी गाउँपालिकाको एकडारा, पिपरा लगायतका बासिन्दालाई अग्लो स्थानमा सुरक्षित भएर बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब उच्च भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

बाँकेको राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेपछी राप्ती सोनारी, डुडुवार नरैनापुरका दर्जनौ गाउँ बाढीको उच्च जोखिममा छन् ।

कुसुमस्थित जल मापन केन्द्रले राप्ती नदीमा पानीको सतह बढ्दै गएको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सजग रहन साइरन बजाइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका १ तपेश्वरीमा आज त्रियुगा नदीको तटबन्ध फुट्दा पाँचसय बढी घर डुबानमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button