तपाईँ सुन्दै हुनुहुन्छः

पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिए

विराटनगर। सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो ।

नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताउनुभयो । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । हिजो शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगेको थियो ।

यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।

बाढीपीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

यसैबीच प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पु¥याएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ ।

शनिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री तुम्बाहाङले वर्षा र पहिरोले ज्यान गुमाएका, बेपत्ता भएका र घरबारविहीन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउँदै सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

बाढी, पहिरोले प्रदेश नं १ उच्च जोखिममा परेको भन्दै उहाँले विज्ञप्तिमा पीडितपरिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुट्न सबै पक्षसँग आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुबानले प्रभावित भएको उल्लेख गर्दै उहाँले प्रभावित क्षेत्रका सबैमा उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button