तपाईँ सुन्दै हुनुहुन्छः

अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्षको असार २९ गतेको जस्तो प्रसन्न मन यसपटक हुन नसकेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको वि.सं. २०७५ सालका राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भाषिक–सांस्कृतिक एकताको सूत्रपात गर्ने आदिकविको २०६ औँ जन्मजयन्तीमा भारी मन लिएर भए पनि पूर्वनिर्धारित कार्यक्रममा उपस्थित भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “यहाँ आउनुअघि पनि राहत र उद्धारमा के गर्न सकिन्छ भन्ने काममै थिएँ, यहाँबाट फर्केपछि पनि त्यसमै लाग्छु, थप केही गर्नु छ कि भनेर ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
ऋषिमुनिको कालदेखि नै ‘सर्वे भवन्तु सुखिनः….’ भन्ने इच्छा गरिएकाले यो राष्ट्रिय आकाङ्क्षा बन्न पुगेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले हाल त्यसका लागि साधन एवं स्रोत दुवै भएकाले सञ्चार, यातायात, पूर्वाधारलगायत साधनले त्यो लक्ष्य पूरा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
व्यक्तिले आफू बाँचिरहेको बेलामा नै योगदान गर्नुपर्छ भन्नुहुँदै प्रधानमन्त्री ओलीले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठलगायतका साहित्यकारले आफ्नो समयमा आवश्यकता अनुसारको कीर्ति राख्नुभएको बताउनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यविधि अनुसार छनौट हुनुभएका ४२ स्रष्टालाई सम्मान गरिएको बताउनुभयो ।
भगत सर्वजित स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सांसद छविलाल विश्वकर्माले उत्पीडितलाई मानव मर्यादामा स्थापित गर्न निरन्तर लागिपर्ने व्यक्तित्वका नाममा स्थापित भगत सर्वजित मानव मर्यादा पुरस्कार विसं २०७२ देखि वितरण शुरु गरिएको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button