तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोशीमा पानीको बहाव घट्दै

इनरुवा। सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताउनुभयो ।

दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्यारेज भएर बग्ने सप्तकोशी नदीको पानीको बहावमा कमी आएको उहाँले बताउनुभयो । उहाँका अनुसार सोमबार पछिल्लो समय गरिएको मापनअनुसार कोशी ब्यारेजमा एक लाख ९३ हजार ७०५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ ।

पानीको बहाव घटेपछि अहिले कोशी ब्यारेजको २८ वटा ढोका खुला गरिएको छ । पानीको बहावअनुसार ढोका खुल्ला गर्ने र बन्द गर्ने भएकाले कुन बेला कतिवटा ढोका खोल्ने भन्ने विषयमा आफूहरु अनभिज्ञ रहेकोसमेत सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

केही दिन अगाडि विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम उद्धृत गरेर भारतीय पक्षको दबाबका कारण कोशी ब्यारेजको ढोका खोल्न नमानेको समाचारमा आफूलाई केही जानकारी नभएको र यो विषय ‘कन्ट्रोल रुम’ले हेर्ने भएकाले आफूलाई कन्ट्रोल रुमबाट आएको जानकारी बाहिर दिने गरेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । कोशी ब्यारेजमा पानीको बहाव हेरेर ढोका खोल्ने र बन्द गर्ने भएकाले यस विषयमा आफू अनभिज्ञ रहेकोसमेत उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button