तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा महिला उद्यमीको कोसेली घर

झापा,भद्रपुर । जिल्लाका महिला लघु उद्यमीहरुले उत्पादन गरेका घरेलु सामग्रीको बजारीकरण गर्ने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा कोसेली घर सञ्चालनमा आएको छ ।
भद्रपुर नगरपालिकाको १ लाख ५० हजार आर्थिक सहयोगमा नगर लघु उद्यमी संघ भद्रपुरले सोमबारदेखि भद्रपुरको चन्द्रगढी बजारमा कोसेली घर सञ्चालनमा ल्याएको हो ।
कोसेली बिक्री केन्द्र नाम दिइएको सो कोसेली घरबाट मुख्यरुपमा लघु उद्यमी महिलाले उत्पादन गरेका सजावटका सामग्री, खाद्यसामग्रीलगायत घरायसी प्रयोजनकालागि आवश्यक सामग्री बिक्री–वितरण गरिने संघकी अध्यक्ष सविता श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय तहलगायत विभिन्न संघ–संस्थाले प्रदान गरेको तालिमबाट सिकेको सीपलाई व्यबहारमा उतार्दै विभिन्न सामग्री उत्पादन गरेका महिला उद्यमीको उत्पादनका लागि बजारको अभाव हुन नदिन कोसेली घर सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठले संयुक्तरुपमा रिबन काटेर कोसेली घरको उद्घाटन गर्नुभएको थियो ।
लघु उद्यमी महिलाले समूहमा मिलेर आफूले उत्पादन गरेका सामग्री सुलभ मूल्यमा बिक्री गर्नका लागि सञ्चालनमा ल्याइएको कोसेली बिक्री केन्द्र जिल्लामै पहिलो भएको महिला उद्यमीहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button