तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारले १ लाख राहत पाउने

ओखलढुंगा। ओखलढुंगामा बाढी पहिरोमा परि ज्यान गुमाउनेका परिवारले १ लाख नगद राहत पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रति मृतक उनका परिवारलाई १ लाखका दरले राहत दिने निर्णय गरेको हो ।
पछिल्लो समय बाढी र पहिरोमा परेर मृृत्यु भएकाहरुका आफन्तलाई तत्काल १ लाख नगद राहत सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिरोले घर पूर्ण क्षति भएका परिवारलाई समितिको तर्फबाट प्रतिपरिवार १० हजार राहत उपलब्ध गराईने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, ‘तत्काल पीडितलाई राहत कसरी दिलाउन सकिन्छ भनेर हामी लागिरहेका छौं ।’ बैठकले सदरमुकामबाट गाउँमा पुगेर राहत दिलाउने सम्भावना नभएको अवस्थामा स्थानीय सरकारले दिने र स्थानीय सरकारलाई समितिले रकम भुक्तानि गर्ने निर्णय गरेको छ ।
लगातारको वर्षाका कारण जिल्लामा ५ जनाको मृत्यु भएको छ । मोलुङ गाउँपालिकामा दुई जना र सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र सुनकोशी गाउँपालिकामा एक–एक जनाको बाढी पहिरोमा परेर ज्यान गएको थियो । पाँच मध्य तीन जनाको पहिरोमा परेर र दुई जनाको बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोलुङ गाउँपालिका–७ पात्लेमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो । सिद्धिचरण नगरपालिका–६ जन्तरखानिका गुणबहादुर श्रेष्ठको घर र गोठ पहिरोले बगाउदा उनकी श्रीमती कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ ।
लगातारको अविरल बर्षापछि आएको बाढीले बगाएर चिशंखुगढी गाउँपालिका ४ की ८५ वर्षीय पासाङकुटी शेर्पा र शुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो ।
बाढी पहिरोबाट जिल्लामा घाईते भने कोही नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button