तपाईँ सुन्दै हुनुहुन्छः

गत वर्षको आर्थिक परिसूचक सकारात्मकः अर्थ मन्त्रालय

अच्युत अर्याल । गत आर्थिक वर्षमा मुलुकको आर्थिक परिसूचक सकारात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय आपूर्ति प्रणालीमा आएको सुधार, उर्जाको उपलब्धता, व्यापार क्षेत्रको विस्तार लगायतका कारणले मुलु्कको समग्र आर्थिक स्थितिमा सुधार आएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा राजश्व असुलीको लक्ष ८ खर्व ३१ अर्व रहेकोमा राजश्व असुली लक्ष अनुसारै हुने र पुँजीगत खर्च लक्ष भन्दा कम भए पनि विगत वर्षको तुलनामा सुधार आएको मन्त्रालयले जनाएको छ ।

मौद्रिक तथा वित्तीय क्षेत्रमा गत आर्थिक वर्षको पहिलो ८ महिनामा विस्तृत मुद्रा प्रदाय ८.४१ प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय ०.७४ प्रतिशतले घटेको छ भने वैकिङ क्षेत्रको निक्षेप १९.८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षदेखि संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा बजेट प्रस्तुत गर्न शुरु गरिएको र यसबाट वित्तीय संघीयताको पूर्ण कार्यान्वयन भइ सरकारी वित्त संरचनामा परिवर्तन आएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेट आज साउन १ गतेदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने र बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट कार्यान्वयन कार्ययोजना बनाएर अघि बढ्न र अनुगमनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button