तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो चरणको छनोटमा नेपाल समूह बी मा

अजय बम । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल समूह बीमा परेको छ ।

प्रारम्भिक चरण नखेली सोझै दोस्रो चरणमा स्थान बनाएको नेपालले कुवेतविरुद्धको खेलबाट छनोट हुने अभियान शुरु गर्नेछ । यो खेल सेप्टेम्बर ५ मा नेपालको होममा हुनेछ । होम एण्ड अवेका आधारमा हुने प्रतियोगितामा नेपालले कुल आठवटा खेल खेल्नेछ ।

छनोट प्रतियोगिता अर्को वर्षको जुनसम्म चल्नेछ । समूह बी मा नेपालले अष्ट्रेलिया, जोर्डन, चाइनिज ताईपेई र कुवेतको सामना गर्ने भएको छ ।

क्वालालम्पुरमा बुधबार सार्वजनिक भएको खेल तालिकाको समूह ए मा चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स र गुआम छन् । यस्तै समूह सी मा इरान, इराक, बहराईन, हङ्कङ र कम्बोडिया छन् । यस्तै समूह डी मा साउदी अरेविया, उज्वेकिस्तान, प्यालेस्टाइन, यमन र सिंगापुर छन् ।

यस्तै समूह ई मा बंगलादेश, ओमान, भारत, अफगानिस्तान र कतार छन् । समूह एफ मा जापान, किर्गिस्थान, ताजिकिस्तान, म्यानमार र मंगोलिया छन् । समूह जी मा युएई भियतनाम, थाइल्याण्ड, मलेसिया र इण्डोनेसिया छन् । समूह एच मा दक्षिण कोरिया, लेवनन, उत्तर कोरिया, तुर्कमेनिस्तान र श्रीलंका छन् ।

दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपमा पनि स्थान बनाउनेछन् । दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको हो ।

फिफाको क्यालेन्डर अनुसार दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बर देखि अर्को बर्षको जुन नौ तारिखसम्म हुनेछन् । नेपाल एसियाको बरियतामा शीर्ष ३४ भित्र परेपछि पहिलोपटक नेपालले सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button