तपाईँ सुन्दै हुनुहुन्छः

भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष

पर्वत-यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी गुडिया सुनारसँग भेटघाट गर्नुभएको हो । अध्यक्ष पौडेल, उपाध्यक्ष, हीरादेवी राना, स्वास्थ्यकर्मी र वडाध्यक्षहरुको उपस्थितिमा सुत्केरी आमालाई कुखुराको भाले, घ्यू र अन्डा वितरण साथै स्वास्थ्यकर्मीबाट सुत्केरीको स्वास्थ्य जाँच पनि गरिएको महाशिलाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । आमा र बच्चाको अवस्था सामान्य रहेको थियो ।

स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरिएको हो । महाशिला गाउँपालिकाका छ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गरिएका छन् ।

भैँसीलाई पनि सुत्केरी खर्च यसैगरी महाशिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । स्थानीय जातका लिमे र पाराकोटे जातका भैँसीका पाडापाडी काटेर खानेलाई रु एक हजार जरिवाना तिराउने निर्णय गत वर्षदेखि नै कार्यान्वयनमा छ ।

महाशिला गाउँपालिकाले यसअघि एक घर एक रोजगार, रक्सी नियन्त्रण, बाँदर नियन्त्रण अभियान सञ्चालन गरेका कारण देशभर चर्चामा रहेको छ । यसैबीच पर्वतको महाशिला गाउँपालिका वडा नं १ जम्पुरमा पहिरोका कारण स्थानीय धनबहादुर शाहीको धन्सारसहितको गोठ भत्किएको छ । लगातारको वर्षासँगै शनिबार दिउँसो गोठमाथिबाट आएको पहिरोका कारण गोठ भत्किएको हो । गोठ भत्किँदा शाहीको गोठमा पालिएका एक ब्याउने र एक दुहुनो भैँसी मरेको छ । झण्डै रु चार लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button