तपाईँ सुन्दै हुनुहुन्छः

निर्माण भएको दुई महिनामै रोशीखोलाको पुल भासियो

काभ्रेपलाञ्चोक । निर्माण भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालय मार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले पुल बनाएको थियो ।
गत जेठमा रु. तीन करोडको लागतमा निर्माण सम्पन्न भएको पुल ३५ दशमलव ६ मिटर लामो छ ।
पुल साल्मिटारतर्फ करीब एक फिटसम्म र बल्थलीतर्फ करीब छ इञ्च भासिएको छ । पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन् । उक्त पुल जेठ महीनामा निर्माण सम्पन्न भएको हो ।
जिल्लाका पूर्वाधार कार्यालय प्रमुख इञ्जिनीयर लोकनाथ रेग्मीले पुलको बिम नभासिएको र पुलको दायाँबायाँ जमीनसँग जोड्ने स्ल्याबमात्रै भासिएको बताउनुभयो ।
“प्राविधिकले हेरिसक्नुभएको छ, निर्माणका बेला ध्यान नदिँदा स्ल्याबभित्र पानी पसेर भासिएको रिपोर्ट आएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार निर्माण कम्पनीले सम्पूर्ण क्षति पुनःनिर्माण गर्नेछ ।
पुल निर्माणको एक वर्षसम्म ‘त्रुटि सच्याउने अवधि’ को प्रावधान भएकाले त्यस अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले जानकारी दिनुभयो ।
क्षतिको विवरण सङ्कलन गरिएकाले अब पुलको गुणस्तरबारे परीक्षण गरिने बताउँदै उहाँले भन्नुभयो, “सम्झौताअनुसारको गुणस्तर नभए निर्माण कम्पनीलाई कारवाही गरिनेछ ।”
निर्माण कम्पनीले भने पुल निर्माणार्थ सम्झौता अनुसारको रकम लिइसकेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button