तपाईँ सुन्दै हुनुहुन्छः

दिपायल विमानस्थलमा कालोपत्रेको काम शुरु

दिपायल । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ ।
गएको वर्षको असारमा सक्ने लक्ष्यसहित वि.सं. २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर शुरु भएको हो ।
विमानस्थलमा कालोपत्रको काम एक हप्ताभित्रमा सकिने विमानस्थल निर्माणको जिम्मा पाएको सपना ग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइड प्रमुख राजेन्द्र विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मौसमले साथ दिए हामी एक हप्तामा पिचको काम सक्छौँ र बाँकी काम त्यसपछि शुरु हुने छ ।”
विमानस्थलमा रन वे रेखाङ्कन लगायतका काम गर्न भने बाँकी छ ।
दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम शुरु गरेको दिपायलका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एकवर्ष पहिले सकिनुपर्ने काम अलपत्र पारेपछि हामीले स्थानीयस्तरबाट दबाब दिएका कारण कालोपत्रको काम शुरु भएको हो,अरु धेरै काम गर्न बाँकी नै छ, सम्बन्धित निकायले समयमै ध्यान दिनु जरुरी छ ।”
करीब रु साढे पाँच करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम सपना ग्याल्भा तथा जेभी कन्स्ट्रक्सनले पाएको छ ।
दिपायलसँगै कालोपत्रे निर्माण शुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परीक्षण उडानसमेत भइसकेको छ ।
उता बैतडीको पाटन विमानस्थलको काम भने लामो समयदेखि अलपत्रमा परेको छ ।
बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । तर कालोपत्रेको काम नसकिएको र म्याद पनि थप नभएकाले निर्माण कम्पनीले काम अघि नबढाएको भन्ने बुझिएको नेपाल नागरिक उड््डयन प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button