तपाईँ सुन्दै हुनुहुन्छः

मनसुनी न्यूनचापीय रेखा पुनः नेपाल प्रवेश : भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा आज पुनः नेपाल प्रवेश गरेको र बुधबारसम्म देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मशाहाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले यस समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताउनुभयो ।
वर्षाका कारण पहाडी भू–भागमा पहिरो जानसक्ने र चुरे अन्य पहाडबाट बहने खोलामा जल सतह बढ्नाका साथै हवाई र सडक यातायातसमेत सञ्चालनमा बाधा पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
पचासदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी र १०० देखि माथिलाई अतिभारी वर्षा भनेर मापन गर्ने गरिएको छ ।
यस वर्षको असार २८ मा काठमाडाँै उपत्यकामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको थियो । यो मनसुन शुरु भएपछिको सबैभन्दा बढी वर्षा हो ।
बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कमला र बामतीमा पानीको प्रवाह बढी हुने र केही शाखा नदीमा पानीको प्रवाह बढ्ने भएकाले मङ्गलबार र बुधबार प्रदेश १, २ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना हुने हुँदा तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यका लागि समेत सचेत रहन आग्रह गरिएको छ ।
राति देशको पूर्वी र मध्य भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्व तथा मध्यका अधिकांश भागका साथै पश्चिमका केही भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button