तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुलीको सुनुवार बस्ती पहिरोको जोखिममा

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ ।
लगातारको वर्षाका कारण बस्तीका धेरै ठाउँमा जमीन चिरा (धाँजो) परेपछि त्यहाँको बस्ती जोखिममा परेको अस्थायी प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक काजीराम पौडेले जानकारी दिनुभयो ।
भालुभञ्ज्याङमा सुनुवार समुदायका १३ घरपरिवार बस्दै आएका छन् ।
लामो खडेरीका कारण खानेपानीको समस्या झेलिरहेका सुनुवार समुदयलाई वर्षायाम शुरु हुनासाथ अत्यधिक पानी परेका कारण पहिराको जोखिमले आफ्नो जन्मस्थल नै छोड्नुपर्ने बाध्यता आइपरेको वडाध्यक्ष मीनबहादुर सुनुवारले जानकारी दिनुभयो ।
सोलीथुम्का डाँडाको पानीढलो भिरालो क्षेत्रमा रहेको बस्तीलाई माथिबाट आएको पहिराले पनि थप जोखिम निम्त्याएको नेकपा सिन्धुली जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी र राजनीतिक दलका स्थानीय प्रतिनिधिले जोखिम क्षेत्रको निरीक्षण गरी बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थानको खोजी गर्ने र तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण आएको पहिरोले सोही वडाको सिम्लेमा रहेको मगरबस्तीलाई पनि असर पु¥याएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button