तपाईँ सुन्दै हुनुहुन्छः

३७ औ विपी स्मृती दिवस सम्पन्न

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३७ औ स्मृती दिवस आज देशका विभिन्न जिल्लामा मनाइएको छ ।

स्मृती दिवसका सन्र्दभमा शहिद स्मृती प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपी कोइरालाले प्रजातन्त्रलाई नै सर्वोपरि ठान्नुभएको र प्रजातन्त्रबिनाको समाजवाद सम्भव नहुने बताउनु भएको छ ।

सभापति देउवाले प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठुलो आक्रमण भइरहेको बताउनुहुदैं लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध पार्न खोजिए त्यो सह्य नहुने बताउनुभयो ।

सभापति देउवाले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई एकसाथ अघि बढाउनुपर्छ भन्ने मान्यतामा दृढ विपी राष्ट्रप्रतिको मायाकै कारण २०३३ मा मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

विपी स्मृती दिससका अवसरमा विपी संङग्रहालय विकास समितीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा काँग्रेस सभापति देउवाले मिडिया काउन्सिल विधेयकले प्रेसलाई नियन्त्रण गर्न खोजेकाले यसलाई सच्याउनुपर्ने बताउनुभयो ।

उहाँले प्रेसलाई नियन्त्रण गर्ने र स्वतन्त्रतालाई कमजोर बनाउने जस्ता विषयलाई सुधार नगरे विधेयेकका विरुद्धमा सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

काँग्रेस नेता प्रकाश शरण महतले लोकतन्त्रको जगमा मात्र समृद्ध नेपाल र सुखी नेपाली संभव भएकाले लोकतन्त्रलाई कमजोर बनाउन नहुने बताउनुभयो ।

त्यस अवसरका सभापति देउवाले प्रजातन्त्रका सेनानी तेजमान तुम्वाहाम्फेलाई एक लाख, रबिन्द्र राई र नीसरु मियालाई जनही ५० हजार रुपैयाँ राशी सहित सम्मान गर्नुभयो ।

विपी कोइराला युवा नेतृत्व विकास प्रतिष्ठानले विपी संग्रहालय सुन्दरीजल काठमाडौंमा गरेको कार्यक्रममा नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले नेताहरुमा विपीको जस्तो उच्च नैतिकता र सोच नभएका कारण राजनीतिमा समस्या आएको बताउनुभयो ।

अहिले अभिव्यक्ति स्वतन्त्रताको बिरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट काम भइरहेको काँग्रेस सभापति देउवाले आरोप लगाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, शहिद स्मृती प्रतिष्ठानका संस्थापक ढुण्डीराज शास्त्री, प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाल लगायतले विपी कोइरालाका योग्दानबारे चर्चा गर्नुभएको थियो ।

विपी स्मृती दिवसका सन्र्दभमा आज मकवानपुरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारका कारण जनतामा निरासा छाउन थालेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले विपी कोइरालाले मुलुकको राष्ट्रियता र समाजवादका लागि प्रजातन्त्रमा अनिवार्य शर्तका रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढ्दा मात्रै मुलुकमा समृद्धि आउने बताउनुभयो ।

बाँकेको नेपालगञ्जमा आयोजित बिचार गोष्ठीमा नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले काँग्रेसलाई सुदृढ बनाउन एकतावद्ध हुनुको विकल्प नरहेको बताउनुभयो ।

महामन्त्री कोइरालाले गुटबन्दीले पार्टी कमजोर बनेको भन्दै पार्टीलाई सशक्त बनाउन एकजुट भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

केन्द्रिय सदस्य बद्रि पाण्डलेले सरकार अलोकप्रिय बनेको बताउदै यो बेलामा काँग्रेसले आफूलाई सशक्त ढंगले अघि बढाउनुपर्ने बताउनुभयो ।

विपी स्मृती दिवसको अवसर पारेर नेपाली काँग्रेस बिपी स्मृती भवन कलैयामा आज बिपी कोइरालाको सालिक स्थापना गरियो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राधेश्याम यादवले मुलुकमा प्रजातन्त्र ल्याउन एवं जहानियाँ राणाशासन अन्त्य गर्न विपीले गर्नुभएको नेतृत्वबारे प्रकाश पार्नुभएको थियो ।

बिसं १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मनु भएका विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

उहाँका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button