तपाईँ सुन्दै हुनुहुन्छः

सम्झौता नगर्ने भूकम्पपीडित लाभग्राही सूचीबाट हटाइए

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेलाई लाभग्राहीको सूचीबाट हटाएको छ ।

अनुदान लाभग्राहीमा परे पनि ५७ हजार ३०९ ले अनुदान सम्झौता नगरेका र अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको सङ्ख्या पाँच हजार ५४० रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा २०७६ असार २१ गतेसम्मलाई तोकेको थियो ।

अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समयसीमा २०७६ असार मसान्तसम्म तोकेको थियो । प्राधिकरणले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको सबै काम स्थगित गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको जनाएको छ ।

प्राधिकरणले यसरी अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकालाई सुनुवाइको विकल्प भने दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button