तपाईँ सुन्दै हुनुहुन्छः

नेपालबाट मलेशिया पराजित

अजय बम । कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गरेपछि सिङ्गापुरमा सञ्चालन भइरहेको टी–२० विश्वकप क्रिकेट छनौटको एशियाली प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गरेको छ ।

वर्षाले खेल प्रभावित भएपछि नौ ओभरमा छोट्याइएको खेलमा मलेशियाले सात खेलाडी गुमाउँदै बनाएको ८३ रनको चुनौतीलाई नेपालले तीन विकेट गुमाइ आठ ओभरमा पुरा गर्यो ।

प्रतियोगिताको विजेताले सन् २०२० को विश्वकपको लागि छनौट प्रतियोगिता खेल्न पाउँछ । नेपालले विश्वकप छनौटको सम्भावनालाई कायम राख्न प्रतियोगिताको बाँकी सबै खेल जित्नुपर्ने चुनौती छ ।

नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान मल्लले नेपालको तर्फबाट सबैभन्दा छिटो पचास रनको कीर्तिमान राखेका छन् । मल्लले यो सँगै प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरीसंग मिलेर पहिलो विकेटको साझेदारीमा पनि नयाँ कीर्तिमान बनाएका छन् ।

यो जोडीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको हो । अर्धशतक प्रहार गरेको अर्को बलमा मल्ल आउट भएका थिए । उनलाई मोहम्मद सहादतले आउट गरेका हुन् ।

सहादतले ऐरीलाई १२ रनमा र दीपेन्द्र सिंह ऐरी दुई रनमा आउट गरे । नेपालको विजयको लागि शरद भेषावकर नटआउट ३ रन र विनोद भण्डारीले आठ बलमा नटआउट १३ रन जोडे । उनले आठौँ ओभरको अन्तिम बलमा सहादतलाई छक्का प्रहार गर्दै खेल जिताएका हुन् ।

त्यसअघि पहिलो ब्याटिङ गरेको मलेशियाले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो । सोमपाल कामीले पहिलो ओभरमै दुई खेलाडीलाई खाता खोल्न नदिई आउट गर्दै नेपाललाई गतिलो शुरूवात दिलाए ।

नेपालमा लागि सोमपाल कामीले तीन र भेट्रान बसन्त रेग्मीले दुई विकेट लिए । सन्दीप लामिछाने र करण केसीको नाममा पनि १–१ विकेट रह्यो । पहिलो खेलमा कतारसँग हार ब्यहोरेकोले नेपालले बाँकी तीनवटै खेलमा शतशत प्रतिशत नतिजा निकाल्नुपर्ने अवस्थामा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button