तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा १२ हजार लाभग्राहीको नाम सूचीबाट खारेज

मकवानपुर-२०७२ सालको भूकम्पका कारण क्षति भएका मकवानपुरका १२ हजार घरधुरीको नाम अनुदान पाउने सूचिबाट खारेज हुने भएको छ । भूकम्प प्रभावितका लागि नेपाल सरकारबाट घर बनाउन अनुदान पाउने जिल्लाका १२ हजार १ सय ९१ घरधुरीको नाम लाभग्राही सूचीबाट खारेज हुने भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जेष्ठ मसान्त भित्र लाभग्राही सूचीमा सूचिकृत भएकालाई असार २१ गतेसम्म अनुदान सम्झौता नगर्ने भूकम्पपीडितका लागि अनुदान सम्झौता गर्ने समयसीमा तोकेको थियो । तर, त्यस अवधिमा पनि अनुदान सम्झौता नगर्ने पुनर्निर्माणतर्फ ६ हजार ४ सय ८२ र प्रवलीकरण तर्फ ५ हजार ७ सय ९ गरी १२ हजार १ सय ९१ घरधुरीको नाम अनुदान पाउने सूचिबाट खारेज भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालयले जनाएको छ ।

असार २१ गतेसम्म अनुदान सम्झौता नगर्नेको नाम अनुदान पाउने लाभग्राहीको सूचीबाट हटाउने सार्वजनिक सूचना जारी गरिसकेकाले जिल्लाका १२ हजार १ सय ९१ घरधुरीको नाम अनुदान पाउने लाभग्राहीको सूचिबाट खारेज हुने भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालयका प्रमुख बिमल किशोर केपीलेृ जानकारी दिनुभयो ।

२०७६ असार मसान्तसम्म मकवानपुरमा निजी आवास पुनर्निर्माणतर्फ ३४ हजार ३ सय १६ र प्रवलीकरणतर्फ १२ हजार ९ सय ४६ गरी जम्मा ४७ हजार २ सय ६२ घरधुरी अनुदान पाउनेको सूचीमा रहेका छन् । जसमध्ये पुनर्निर्माणतर्फ २७ हजार ८ सय ३४ र प्रवलीकरणतर्फ ७ हजार २ सय ३७ गरी कुल ३५ हजार ७७ जनाले अनुदान सम्झौता गरेका छन् ।

जसमध्ये पुनर्निर्माणतर्फ २७ हजार ५ सय ९० र प्रवलीकरण तर्फ ७ हजार २ सय ३७ जनाले पहिलो किस्ता लगेका छन् । जिल्लामा अझै पनि २ सय ४४ जनाले अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलगेको तथा ५ सय ७६ जनाले पहिलो किस्ता बैंकमा जम्मा भएर पनि २०७६ असार मसान्तसम्म लिन नआएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालयका प्रमुख बिमल किशोर केपीले जानकारी दिनुभएको छ । पहिचान भएका मध्ये १२ हजार १ सय ९१ घरधुरीले हालसम्म अनुदान सम्झौता नै नगरेको उहाँले जानकारी दिनुभयो ।

घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता भुक्तानी लिनेको संख्या भने जिल्लामा १६ हजार ७ सय ८ घरधुरी रहेको प्रमुख केपीले बताउनुभएको छ । जिल्लामा पुनर्निर्माण र प्रवलीकरण तर्फ पहिलो किस्ता लिनेको संख्या ७४ प्रतिशत रहेको छ । त्यस्तै घर बनाउन सुरु गरेर दोस्रो किस्ता लिनेको संख्या ४६ प्रतिशत र तेस्रो किस्ता लिनेको संख्या ४९ प्रतिशत रहेको प्रमुख केपीले जानकारी दिनुभयो ।

भूकम्पका कारण घर आंशिक रूपमा मात्रै क्षति भई प्रवलीकरण गर्नुपर्ने सूचीमा रहेका भूकम्पपीडितमध्ये १ जनाले पनि दोस्रो किस्ता नबुझेको उहाँले जानकारी दिनुभएको छ ।त्यस्तै जिल्लाका २९ जनाले लाभग्राहीले अनुदान रकम फिर्ता गरेको उहाँले जानकारी दिनुभएको छ । जिल्लामा १४ जनाले स्वेच्छाले तथा १५ जनाले दोहोरो भुक्तानी लिएर सम्झौता रकम फिर्ता गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लामा २०७६ जेष्ठ मसान्तसम्म पुनःजाँच सर्वेक्षणको लागि ८ हजार भूकम्प प्रभावितले आवेदन दिएकोमा ७ हजार ९६ जनाको पुनःजाँच सर्वेक्षण सम्पन्न भएको तथा जिल्लामा २ सय ३३ घरहरु प्राविधिक पुग्नु अगावै बनेको पाईएको प्रमुख केपीले जानकारी दिनुभएको छ ।

त्यस्तै जिल्लामा जिल्ला आयोजना कार्यान्वयन इकाईबाट प्रवलीकरणबाट पुनर्निर्माणमा सिफारिस भएका लाभग्राही २ सय १९ मध्ये ४ जनाको स्वीकृत भएको र जिल्लामा पुनर्निर्माणबाट प्रवलीकरणतर्फ सिफारिस भएका १७ जना लाभग्रही मध्ये ४ जनाको स्वीकृत भएको उहाँले जानकारी दिनुभएको छ । त्यस्तै जिल्लामा १ हजार ८ सय २३ जना भूमिहीन लाभग्राहीहरुको जिल्ला समन्वय समितिको निर्णयबाट साविककै स्थानमा निजि आवास निर्माण गर्नको लागि स्वीकृत प्रदान गरेको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button