तपाईँ सुन्दै हुनुहुन्छः

मृतकको संख्या पाँच, दुईको सनाखत

लमजुङ। लमजुङको दोर्दीखोलामा बुधबार अपरान्ह अचानक बाढी आउँदा ठुलो जनधनको क्षति भएको छ । बाढीले बगाउँदा मृत्यू हुनेको संख्या पाँच पुगेको छ भने अझै ७ जना सम्पर्क विहिन छन् ।
मृत्यु हुने मध्ये दुई जनाको सनाखत भएको प्रहरी निरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो । प्रहरी निरिक्षक पाण्डेका अनुसार पर्सा घर भई लिवर्टी इनर्जी कम्पनीद्धारा प्रवद्र्धन गरिएको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाका मजदुर शिवधन चौधरी र सोहि आयोजनामा काम गर्ने डडेलधुराका रमेश बुढा रहेका छन् ।
वेपत्ता हुनेमा सप्तरी घर भएका अन्दाजी ४० वर्षीय सुरेन्द्र चौधरी, कञ्चनपुर घर भएका अन्दाजी ४३ वर्षीय देवबहादुर कोली, डडेल्धुरा घर भएका अन्दाजी ४५ वर्षका कर्ण बुढा, भोजपुर घर भएका अन्दाजी २२ वर्षीय दिवस कटुवाल, बारा घर भएका अन्दाजी ३० बर्षीय शहित अन्सारी र सोही जिल्लाका अन्दाजी २४ वर्षीय ज्ञानेन्द्र चौधरी र लमजुङ दोर्दी गाउपालिका सुन्सराका अन्दाजी २० बर्षीया विनोद तामाङ रहेको प्रहरी निरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।
बाढीमा परेर घाईते भएका ८ जनालाई उपचारको निम्ति राती नै जिल्ला अस्पताल ल्याइएको छ । घाईते मध्ये ५ जना गम्भीर रहेको प्रमूख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । बाढीमा परी सातजना अझै सम्पर्क विहिन छन् ।
बाढीले विध्वंस बनाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु खोज तथा उद्धारमा लागेका थिए । राती १० वजेसम्म पनि खोज तथा उद्धारमा लागेको नेपाली सेनाको श्रीजङ गणका मेजर राम बोहोरालले बताए ।
मनाश्लु हिमाल काखबाट बगेको नदिमा मुहान वरपर पहिरो बगेका कारण बाढी आएको स्थानीयको अनुमान छ । दोर्दी वडा नं. ६ ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको टनेलमा बाढी पसेपछि फसेका १७ मजदुर सवैको सकुशल उद्धार गरिएको आयोजनाका प्रवद्र्धक केशव रायमाझीले बताउनुभयो । बाढीले आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटर लगायतका सामाग्री बगाएको रायमाझीले बताउनुभयो ।
यसैगरी दोर्दी खोलामै निर्माणाधिन २५ मेगावाटको माथिल्लोदोर्दी जलविद्युत आयोजनामा पनि ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । आयोजनाको बाँध क्षेत्रमा बाढी पसेपछि विध्वंस मचाएको आयोजनाका आत्माराम घिमिरेले बताउनुभयो । बाढीले बाँध क्षेत्रमा निर्माणाधिन संरचना भत्काउनुको साथै पावर हाउसको संरचनामा पनि बढि जोखिम बनाएको घिमिरेले जानकारी दिनुभयो । आयोजनामा निर्माणाधिन उपकरणहरु के कति बगायो आँकलन गर्न नसकिएको घिमीरेको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button