तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने

विराटनगर-प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उदयपुरको लिम्चुङवुङ र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोका कारण त्यहाँ पग्ने बाटो अवरुद्ध भएकाले खाद्यान्न अभावका कारण स्थानीय जनता भोकभोकै बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न तत्काल सात दिनका लागि पुग्ने ७०० क्विन्टल चामललगायत दाल, नुन र खानेतेल हेलिकप्टरमार्फत पठाउने भएको हो । साथै बैठकले उक्त दुई गाउँपालिका पुग्ने अवरुद्ध सडक सञ्चालन गर्नका लागि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सङ्घीय निकायसँग समन्वय गरी कार्य अघि बढाउने निर्णय गरेको छ ।

बैठकले बाढीपहिरोबाट मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । प्रदेश सरकारले बेपत्ता व्यक्तिको उद्धार र खोजीकार्यलाई तदारुकताकासाथ अगाडि बढाउने निर्णयसमेत गरेको छ । बाढीपहिरोबाट विस्थापित परिवारलाई राहत र पुनःस्थापना गर्न सम्बन्धित निकायको समन्वय र सहकार्यमा प्रभावकारी ढङ्गबाट कार्य अगाडि बढाउने भएको छ ।

अविरल वर्षा अझ केही दिन रहनसक्ने भनी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट सार्वजनिकरूपमा जानकारी भएकाले यसबाट पर्न सक्ने विपद्लाई ध्यानमा राखी सुरक्षित स्थानमा सर्न र सचेत रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ । प्रदेशमा यस वर्ष आएको बाढीपहिरो र डुबानबाट २९ जनाको मृत्यु, आठ बेपत्ता र २१ घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button