तपाईँ सुन्दै हुनुहुन्छः

सडकको दुरावस्थाका कारण दोलखा र सिन्धुका बासिन्दा अघोषित नाकाबन्दीमा

चरिकोट,दोलखा । लामोसाँगु जिरी सडकको लामोसाँघु चरिकोट सडक खण्ड विस्तारको काम निर्धारित समयमा नसकिदा दोलखा र सिन्धुपाल्चोकका बासिन्दाले अहिले अघोषित नाकाबन्दीको सामना गरिरहनुपरेको छ ।

५५ किलोमिटर लामो लामोसाँगु चरिकोट सडकको विभिन्न ठाँउमा सडक विस्तारको क्रममा थुपारिएको माटोका कारण अहिले सडक खेत जस्तो बनेको यात्रुहरुको गुनासो छ । चरिकोटबाट विहान पाँच बजे बस चढ्ने यात्रु बेलुका ५÷६ बजेमात्र काठमाडौँ पुग्न सक्ने अवस्था रहेको यात्रुहरु बताउछन् ।

‘सडकको दुरावस्थाको कारण अहिले एक सय ३३ किलोमिटरको यात्रा तय गर्न १२ घण्टा भन्दा बढी समय लाग्ने अवस्था छ, तर सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन’ –कानुन व्यवसायी कृष्ण वस्नेतले भन्नुभयो ।

दैनिक एक सयभन्दा बढी साना तथा ठूला सवारी साधन सञ्चालन हुने लामोसाँघु चरिकोट सडकमा अहिले डोजरले तानेर मुश्किलले बसहरु सञ्चालन गरिदै आएको छ । एउटा सवारी साधनलाई दश पटक भन्दा बढी डोजरले तानेर खाडीचौरसम्म पु¥याउनु पर्ने यात्रुहरुको भनाई छ ।

लामोसाँघु चरिकोट सडक विस्तार कार्यक्रम अन्तर्गत लामोसाँघु मूडे २५ किलोमिटर सडक विस्तार र मूडे चरिकोट ३० किलोमिटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो । दुबै काम सम्पन्न गर्नुपर्ने अवधि दुई बर्षको थियो ।

तर अवधि सकिएर दुई बर्ष नाघिसक्दा समेत दुबै कामको प्रगति ७० प्रतिशत पनि हुन नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले हर्जाना लगाएको थियो । दैनिक हजर्ना लगाउँदा समेत उल्लेख्य काम हुन नसकेको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख एवं सडक विस्तार आयोजनाका आयोजना प्रमुख धमेन्द्र कुमार झा बताउनुहुन्छ ।

लामोसाँघु मूडे सडक खण्ड अन्तर्गत चेनेज शुन्य किमी देखि २५ किमीसम्म लामोसाँघु मूडे सडक खण्डको काम गरिरहेको सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले अहिले दैनिक झण्डै तीन लाखको दरले हर्जाना तिरिरहेको र चेनेज २५ किमी देखि ५५ किमिसम्म मूडे चरिकोट सडक खण्डको काम गरिरहेको शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभीले अहिले दैनिक झण्डै चार लाखको दरले हर्जाना तिरीरहेको आयोजना प्रमुख धमेन्द्रकुमार झाले बताउनु भयो ।

त्यति गर्दा पनि काम नभएपछि साउन ५ गते सार्वजनिक सूचना मार्फत तीन दिने अल्टिमेटम सहित काम सम्पन्न नहुँदासम्मका लागि यातायात सहज हुने गरी आवश्यक व्यवस्थापन गर्न चेतावनी दिईएको र अहिले खाल्डा खुल्डी पुर्ने र अन्य आवश्यक व्यवस्थापनको काम भै रहेको आयोजना प्रमुख झाले बताउनुभयो ।

दोलखाका संघीय सांसद पार्वत गुरुङ निर्माण कम्पनि र डिभिजन सडक कार्यालयको लापार्वाहीले दोलखा र सिन्धुपाल्चोकका वासिन्दाले दुःख पाएको र अहिले यातायात सहजताको लागि निरन्तर दवाव दिईरहेको बताउनुहुन्छ ।
दोलखा र सिन्धुपाल्चोकका स्थानिय वासिन्दाले पनि बर्षा अवधिभर यातायात सहज ढङ्गले सञ्चालन हुने गरी तत्काल व्यवस्थापन नगरे खाल्डा खुल्डी पुर्न सडक पिच गर्न राखिएको समग्री प्रयोग गर्ने र निर्माण कम्पनि तथा डिभिजन सडक कार्यालयको सवारी साधनहरु नियन्त्रणमा लिने चेतावनी दिएका छन् ।

भारतिय एक्जिम बैङ्कको झण्डै एक अर्ब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको सडक विस्तारको काम समयमै सम्पन्न हुन नसक्दा सिनधुपाल्चोक र दोलखामा पर्यटक आगमनमा कमी, दैनिक उपभोग्य सामानको मुल्यमा बृद्धि र विरामीलाई काठमाडौँसम्म पु¥याउन ठूलो समस्या भइरहेको स्थानियको गुनासो रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button