तपाईँ सुन्दै हुनुहुन्छः

पौडीबाज सिंह र शाहको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली पौडीबाज गौरिका सिंह र एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा आफ्नै पुरानो कीर्तिमान तोड्न सफल भएकी हुन् । उनले बिहीबार १ मिनेट ६२ मिलिसेकेन्डमा निर्धारित दुरी पुरा गर्दै १ मिनेट ७९ मिलिसेकेन्डको पुरानो कीर्तिमान सुधारेकी हुन् । उनले उक्त कीर्तिमान सन् २०१७ मा २० औं राष्ट्रिय पौडी प्रतियोगितामा राखेकी थिइन् ।

गौरिका प्रतिस्पर्धाको ९३ खेलाडीमध्ये ६९ औं स्थान हासिल गर्न सफल भइन् । त्यसअघि गौरिकाले २ सय मिटर फ्रिस्टाइलमा २ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै ४८ औं स्थान हासिल गरेकी थिइन् ।

यस्तै एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइलमा शिरिष गुरुङको कीर्तिमान तोड्न सफल रहे । एलेक्जेन्डरले ५६.२८ सेकेन्डमा निर्धारित दुरी पुरा गरेका हुन् ।

यसअघि सन् २०१७ मा भएको एनएसए कपमा शिरिषले ५७.६९ सेकेन्डको कीर्तिमान राखेका थिए । यस स्पर्धामा सहभागी १ सय २० खेलाडीमध्ये एलेक्जेन्डर १ सय २ औं स्थानमा आए । एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका अर्का पौडीबाज शुभम श्रेष्ठले १ सय मिटर ब्याकस्ट्रोक १ मिनेट ११.७४ सेकेन्डमा पूरा गरे । उनी ८७ खेलाडीमध्ये ८४ औं स्थानमा रहे । उनले २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३८.७९ सेकेन्ड लगाउँदै ५२ खेलाडी सम्मिलित प्रतिस्पर्धाको पुछारमा रहे ।

नेपालबाट अब सोफिया शाहले ५० मिटर बटरफ्लाई र ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button