तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र भारतबीच पारवाहनको सहज व्यवस्था आवश्यक: प्रम ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारवहन सम्बन्ध सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय पारवहनको दिगो व्यवस्थापन गरिने बताउनुभएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको संयुक्त आयोजनामा आइतबार काठमाडौंमा गरिएको नेपाल–भारत पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पारवहन सम्बन्धलाई व्यवस्थित गर्न नेपाल भारतबीच सौहार्द वातावरण बनिरहेको बताउनुभयो ।
उहाँले व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दुईदेशबीच रहेको व्यापारिक नाकाको भौतिक तथा अन्य पूर्वाधार विकास र पारवहन सम्बन्ध विगतमा भन्दा सुधार भइरहेको बताउनुहुँदै नेपाल र बंगलादेशबीच भएर हुने विश्व व्यापार र पारवहन पहुँच समेत सहज बनाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच हुने अन्तक्र्रिया र सहकार्यबाट आपसी हित, सम्मान र सहयोगमा आधारित भएर अघि बढ्ने बताउनुभयो ।
उहाँले चाडैनै लगानी सम्मेलन गर्ने तयारी गरिएको जानकारी दिनुहुँदै नेपालमा जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताउनुभयो ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल–भारत बीचको दुईपक्षीय व्यापार र पारवहन सम्बन्ध सुदृढ बन्दै गएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल–भारत पारवहनका क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधान हुन सके दुवै देशलाई फाइदा पुग्ने बताउनुभयो ।
सम्मेलनमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच व्यापार क्षेत्रमा हुने सहकार्यका लागि पारवहन सहजीकरण सम्मेलनले थप सहयोगी भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button