तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत पारवहन सहजीकरण बनाइने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारवहन सम्बन्ध सुदृढ बनाउँदै अन्तराष्ट्रिय पारवहनको दिगो व्यवस्थापन गरिने बताउनुभएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित नेपाल–भारत पारवहन सहजीकरण सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पारवहन सम्बन्धलाई व्यवस्थित गर्न नेपाल भारतबीच सौहार्द वातावरण बनिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले भन्सार प्रणालीलाई थप व्यवस्थित तथा विद्युतीय बनाएको र उद्योगी तथा व्यवसायीलाई पनि सहजरुपमा व्यापार तथा वाणिज्यका लागि मार्ग प्रशस्त गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको चुलिँदो व्यापार घाटा घटाउनका लागि पनि यातायात सञ्जालको विस्तारलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको बंगलादेश भएर हुने विश्व व्यापार र पारवहन पहुँच समेत सहज बनाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीचहुने अन्तक्रिया र सहकार्यबाट आपसी हित, सम्मान र सहयोगमा आधारित भएर अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले चाँडै नै लगानी सम्मेलन गर्ने तयारी गरिएको जानकारी दिनुहुँदै सरकारले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर नेपालमा लगानी गर्न भारत लगायत संसारभरका लगानीकर्तालाई आग्रह गर्नुभयो ।

सन् २०३० सम्म नेपाललाई मध्यस्तरीय आय भएको मुलुकका रुपमा विकास गर्ने गरी सरकारले सोच, नीति तथा कार्यक्रम अगाडि बढाएको र दिगो विकास लक्ष्यमा समावेश भएका योजनालाई समेत पूरा गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले कृषि, पर्यटन, भौतिक पूर्वाधार, ऊर्जा लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी लगानी बढाएको र विदेशी लगानीकर्तालाई सोही क्षेत्रमा लगानीका लागि आग्रह गरिएकाले व्यापारिक र व्यावसायिक वातावरणलाई सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले वर्षाको समयमा खेर गएको विद्युत् भारत निर्यात गर्न शुरु गरेको जानकारी दिनुहुँदै ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन लगायत अन्य विभिन्न सातवटा बिन्दुबाट विद्युत् आयात तथा निर्यात गर्न सकिने अवस्था रहेको जानकारी दिनुभयो ।

सम्मेलनमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच व्यापार क्षेत्रमा हुने सहकार्यका लागि पारवहन सहजीकरण सम्मेलनले थप सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल–भारत बीचको दुइपक्षीय व्यापार र पारवहन सम्बन्ध सुदृढ बन्दै गएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल–भारत पारवहनका क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान हुन सके दुवै देशलाई फाइदा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button