तपाईँ सुन्दै हुनुहुन्छः

गोर्खा ब्रुअरीलाई सात दिनभित्र कर बुझाउन पत्र

काठमाडौं । आन्तरिक राजश्व कार्यालय, भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ ।
कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु. ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो ।
कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार, आर्थिक वर्ष २०७३÷७४ को रु. ५३ करोड २१ लाख ५७ हजार ६१५ र आर्थिक वर्ष २०७४÷०७५ को रु. ३३ करोड ९३ लाख ३९ हजार ९६३ अन्तःशुल्क, जरिवाना र विलम्व शुल्क दाखिला गर्न पत्राचार गरेको हो ।
अन्तःशुल्क ऐन २०५८ को दफा १० (घ) तथा नियमावली २०५९ को नियम ६ (क) बमोजिमको अन्तिम अन्तःशुल्क आदेश जारी गरिएको र पत्र करदाता प्रतिनिधिले बुझिसकेको रिजालले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यही साउन ८ गते यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई उल्टाएपछि कर सङ्कलन गर्ने बाटो खुलेको हो ।
ब्रुअरीले यसअघिका तीन वर्षमा पनि सोही शीर्षकमा कर तिर्न बाँकी रहेको छ । कार्यालयका अनुसार,आर्थिक वर्ष २०७०÷०७१ को रु. ७ करोड, ०७१÷०७२ को रु १५ करोड र ०७२÷०७३ को रु २९ करोड अन्तःशुल्क बुझाउन बाँकी रहेको छ ।
अघिल्ला दुई वर्षको राजश्व न्यायाधीकरण र पछिल्लो एक वर्षको सर्वाेच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले टुङ्गो लाग्न नसकेको रिजालले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button