तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव समूहका तीनजना कार्यकर्ता हतियार सहित पक्राऊ

बीरगञ्ज । रौतहटको चन्द्रपुर नगपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव समूहका तीनजना कार्यकर्तालाई हतियार सहित पक्राउ गरेको छ ।
आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ टेकान टोलका रेहान तामाङ्ग भन्ने रामबहादुर घिसिङ तथा मानबहादुर वाइवा र गैडाटारका रेवप्रसाद मैनालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ परेकामध्ये रामबहादुर घिसिङको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ८ थान गोली बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक कवित कटुवालले जानकारी दिनुभयो ।
यसैगरी, पक्राउ परेका रेवप्रसाद मैनालीको साथबाट एक थान गोली र तामाङ्गको साथबाट पाइपको टुक्रा २ थान तथा विप्लव समूहको दस्तावेजहरु बराममद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरु लामो समयदेखि विप्लव समूहमा आवद्ध रहेको र यसअघि पनि गैडाटारमा रहेको एनसेलको टावरको आगजनीमा समेत उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा रहेको वडा कार्यालयमा विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको र आगजनीबाट वडा कार्यालयका कागजात, कम्प्युटर लगायतका सामान नष्ट भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button