तपाईँ सुन्दै हुनुहुन्छः

दलहरुबीच सहमति नजुट्दा संसद बैठक स्थगित

काठमाण्डौ । प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यका लागि सभामुख कृष्णबहादुर महराले बोलाउनुभएको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति जुट्न नसक्दा विहिबार दिउँसो २ बजे बोलाइएको सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले प्रतिनिधिसभाको बैठक अबरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकोले बस्न नसक्ने हुँदा साउन २० गते सोमबार विहान ११ बजे बस्ने गरी सभामुखले निर्धारण गरेको सूचना जारी गर्नुभएको छ ।
बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सहमतिका लागि थप छलफल आवश्यक देखिएकाले सहमतिमै सोमबार सम्मका लागि संसद बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले सर्लाही घटना मानवधिकारसँग जोडिएकाले संसदीय छानविन समिति बनाउनुपर्छ भनेर आफूहरुले माग राखेको बैठकमा थप छलफलको आवश्यकता महशुस भएकाले संसद बैठक स्थगित गरिएको बताउनुभयो ।
समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्लाही घट्नाका सम्बन्धमा संसदीय छानविन समिति बनाउन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु दुबै लोकतान्त्रिक प्रक्रिया हुने आफूले सुझाव दिएको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले सर्लाहीमा प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका कुमार पौडेलको मुद्दा उठाउँदै संसदीय समितिको माग राखी प्रतिनिधिसभा अवरुद्ध गरेका कारण संसद चल्न सकेको छैन्। बुधबारको बैठकमा झन्डै एक घन्टा प्रतिपक्षी दलहरुले नाराबाजी गरेका कारण संसद आजसम्मका लागि स्थगित भएको थियो।
यसअघि संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वंदलीय बैठकमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ र सचेतक शान्ता चौधरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका उपनेता विजयकुमार गच्छार, मुख्य सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुषाल सहभागी हुनुहुन्थ्यो ।
यस्तै, प्रतिपक्षी दल राजपा नेपालका तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव, सदस्य महन्थ ठाकुर, सचेतक लक्ष्मणलाल कर्ण, समाजवादी पार्टीका अध्यक्ष द्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button