तपाईँ सुन्दै हुनुहुन्छः

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

काठमाडौँ-ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिनुभयो ।

महाशाखाले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ । कारवाही परेकामध्ये ४० हजार ६१९ पुरुष र दुई हजार २०३ महिला रहेका छन्

। ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई रु पाँचसय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले विस २०७१ असोज २६ देखि लेन अनुशासन कारवाही गर्दै आएको हो । महाशाखाले हालसम्म तीन लाख आठ हजार ५४७ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा लिएको प्रवक्ता पौडेलले बताउनुभयो । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button