तपाईँ सुन्दै हुनुहुन्छः

२१ वर्षिय युवाले अमेरिकामा गरे अन्धाधुन्ध गोली प्रहार, २० मारिए, २६ घाइते

काठमाडौं । अमेरिकामा फेरि अन्धाधुन्ध गोली प्रहारबाट २० जना मारिएका छन् । टेक्सासस्थित इआई पासोमा भएको अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ भने २६ जना घाइते भएको बीबीसीले लेखेको छ ।अमेरिका र मेक्सिकोको सीमा क्षेत्र नजिक उक्त घटना भएको हो । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो ।
आक्रमणको आरोपमा २१ वर्षिय युवा प्याट्रिक क्रुसियस पक्राउ परेकोे अमेरिकी मिडियाले बताएका छन् । सिसिटीभी फुटेजमा ति व्यक्ति मल भित्र छिरेर अन्धाधुन्ध गोली चलाएको देख्न सकिन्छ । कालो टिसर्ट लगाएका उनले इअर प्रोटेक्टर लगाएको र एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली चलाएका हुन् ।

आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान भएको छैन । यद्यपि, मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओबराडोरले घटनामा आफ्ना ३ नागरिकको ज्यान गएको बताएका छन् । रोयटर्सले जनाएअनुसार उनले ६ नागरिक गोली प्रहारबाट घाइते भएको जनाएका छन् ।

टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्डको पुष्टि गर्दै इतिहासकै सबैभन्दा भयानक दिन भएको प्रतिक्रिया दिएका छन् । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीटर मार्फत सो घटनाको भत्र्सना गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट तीन जना मारिएको एक साता नबित्दै यो दोस्रो घटना घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button