तपाईँ सुन्दै हुनुहुन्छः

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

काठमाडौं । साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ ।

बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक, सांस्कृतिक, प्राकृतिक र राजनीतिक दृष्टिले महत्वपूर्ण सुन्दरीजल क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्नेमा जोड दिए ।

“मानव कल्याणका लागि अन्यायका विरुद्ध शिवपुरीको यो क्षेत्रमा शिव पार्वतीले ध्यान तपस्या गर्नुभएजस्तै पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, नेता गणेशमान सिंह, महेन्द्रनारायण निधिले यहीँको जेलमा बसेर जनअधिकारका लागि काम गर्नुभयो, यसले पनि यो स्थानलाई थप पवित्र बनाएको छ”, उहाँले भन्नुभयो ।

यस्तो पवित्रस्थलमा आउने जीर्ण सडकमा सरकारको आँखा पुग्न नसकेको उल्लेख गर्नुहुँदै नेपाली काङ्ग्रेसको उपसभापतिसमेत रहनुभएका नेता निधिले भगवान् शिवको त्रिनेत्रले सरकारको आँखा खोलोस् भनी कामना गर्नुभयो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले सुन्दरीजलबाट शुद्ध जल लिई बोलबम यात्रा गरेर पशुपतिनाथ मन्दिरमा चढाउन चाहने भक्तजनका लागि विशेष व्यवस्था गरिएको बताए । बोलबम यात्रीलाई पशुपति मूल मन्दिरमा प्रवेश गरी जल चढाउन बेग्लै लामको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले चालू आर्थिक वर्षमा सुन्दरीजलमा बोलबम धाम निर्माण गर्न रु एक करोड बजेट विनियोजन गरिएको जानकारी दिए । धामका लागि ४६ रोपनी जग्गाको व्यवस्थासमेत नगरपालिकाले गरिदिएको उनको भनाई थियो ।

अर्को वर्षको बोलबम यात्रा बेला धाम एवं सुन्दरीजल आउने सडक पनि बनिसक्ने नगर प्रमुख चालिसेको भनाइ थियो । सङ्घका अध्यक्ष तुलसी रौनियारले भारतको बाबाधाममा हुने बोलबम यात्रामा भारतीय सरकारले सबै व्यवस्था गरिदिने गरेको उल्लेख गर्नुहुँदै नेपालमा भने ४४ वटा उपसमिति गठन गरेर रु ३२ लाख चन्दा उठाउनुपरेको गुनासो गरे ।

गोकर्णेश्वर नगरपालिकाले थोरै सहयोग गरे पनि प्रदेश एवं सङ्घीय सरकारबाट बोलबम यात्राका लागि केही सहयोग नभएको उनले बताए । सुन्दरीजलमा बोलबम यात्रा गर्न भारतीय पर्यटकसमेत आउन इच्छा गर्ने भए पनि पर्यटकीय पूर्वाधार बन्न नसकेको उनको भनाई थियो ।

सुन्दरीजलमा धर्मशाला निर्माणका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालयसँग रु १० करोड सहयोग माग गरिएको सङ्घले जनाएको छ । नेपाल भ्रमण वर्ष सफल बनाउन पनि सबैभन्दा धेरै धार्मिक पर्यटक आउने भएकाले धाम, धर्मशाला जस्ता संरचना बनाउन ढिलाइ गर्नु नहुने बोलबम यात्रीको माग छ ।

पशुपतिनाथलाई सोमनाथ, मल्लिकार्जुन, महाँकाल, ओमकार, केदार, भीमशङ्कर, विश्वेश्वर, त्रयम्बक, वैद्यनाथ, नागेश, रामेश्वर र घृश्णेश्वर गरी द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा वैदिक सनातन धर्मावलम्बीले पुज्ने भएकाले पनि धेरै मानिस दर्शन एवं पूजाआजाका लागि यहाँ आउन चाहन्छन् । तर त्यसका लागि पूर्वाधारलगायत संरचना विकास हुन सकेको छैन ।

विसं २०४५/२०४६ तिर सीमित तराईवासीले मात्र सुन्दरीजलबाट पशुपतिनाथ जल लगेर चढाउँथे । हाल त्यो सङ्ख्या सयौँ गुणा बढिसकेको छ । बोलबम यात्राले सुन्दरीजल क्षेत्रको व्यापार व्यवसायमा पनि सकारात्मक प्रभाव पारेको छ । साउन महीनामा धेरै व्यापार हुने गरेको यहाँका होटल व्यवसायी गौतम श्रेष्ठले बताए ।

बोलबमका लागि आवश्यक पर्ने कपडा, भाँडाकुँडाको व्यवसाय पनि उस्तै फस्टाएको छ । बोलबम यात्राका लागि पर्याप्त शौचालयको व्यवस्था हुन नसक्दा साउन महीनामा उपत्यकाको खानेपानीको स्रोतसमेत भएको ठाउँमा प्रदूषण फैलने गरेको छ । यसतर्फ नगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोलबम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोलबम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एकपटक साउन महीनामा घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button