तपाईँ सुन्दै हुनुहुन्छः

करेसाबारी नभएको घरमा पाहुना आउन जान बन्द

सल्यान । सामान्य तया गाउँघर छरछिमेकमा झै–झगडा पर्दा पाहुना आउने जाने प्रचलन रोकिएको हुन्छ । यहाँसम्मकी पानी बाराबार सम्म हुने गर्दछ । तर छत्रेश्वरी गाउँपालिका वडा न २ मा पाहुना आउ जाउ नगर्ने कारण भने भिन्नै रहेको छ । जसको घरमा तरकारी छैन त्यसको घरमा पाहुना नै आउने जाने गर्दैनन् इष्टमित्र छरछिमेक । छत्रेश्वरी गाउँपालिकाको २ न वडा कार्यालयले करेसाबारी नहुनेकोे घरमा पाहुना नजाने नीति अवलम्बन गरेको छ । सुरु सुरुमा स्थानीयहरुबाट केही करकापको महसुस गरेपनि अहिले प्रायको घरमा करेसाबारी रहेको छ ।

वडा कार्यालयले सुरु सुरुमा अनिवार्य करेसाबारीको अवधारणा ल्याउदा केही अप्ठेरो लागेपनि घरमै ताजा र पोषणयुक्त तरकारी खान पाएको स्थानीय विर बहादुर बुढाले बताए । उनले भने ‘हामी घरमै भएको चिजलाई उपयोग गर्न नजानेर समस्यामा परेका रहेछौं । मौसम अनुसारको तरकारी घरमै फलाएर खान नजानेर हामी कुपोषणको शिकार भएका रहेछौं । ’
प्रायः सबैजसो मानिस किसान भएर पनि परम्परागत ढंगले खेतीपानी गर्ने पोषणयूक्त तरकारीमा ध्यान नपु¥याएको समयले वडाले करेसाबारीको अभियानले निकै श्राहनिय भएको रेशम भण्डारीले बताए । उनले भने ‘सुरुमा करेसाबारी नभएको घरमा पाहुना जान नपाइने सुन्दा साह्रै रिस उठेको थियो तर बुझ्दै जाँदा आफ्नै लागि रहेछ ।’
करेसाबारी नभएको घरमा पाहुना नजाने नीति आएपछि लाजका कारण पनि सबैको घरमा १२ अ‍ैं महिना करेसाबारी भएको अर्का किसाान बेल बहादुर घर्तीले बताए । अनिवार्य करेसाबारीको अवधारण आएपछि केही किसान व्यवसायिक तरकारी खेतीमा समेत आर्कषित भएको उनको भनाई छ ।

आफ्नो वडामा रहेको कुपोषणको मात्रा घटाउनका लागि अभियानकै रुपमा करेसाबारी कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष प्रेम बहादुर खड्काले बताए । करेसाबारीमा पनि पोषणयुक्त तरकारी लगाउनै पर्ने उनको भनाई छ । पाहुना नजाने नीति बनाए पछि प्रत्येकका घरमा करेसाबारी रहेको उनको दावी छ ।
सुरुमा करेसाबारीमा स्थानीयलाई आकर्षित गर्नका लागि वडा कार्यालयले विउविजन उपलब्ध गराएको र अहिले किसान आफ्नै विउविजन किनेर तरकारी लगाउने गरेको खड्काले बताए । उनले भने ‘स्थानीयको पोषणमा सुधार ल्याउन र खानपानको शैलीमा परिवर्तन ल्याउन एक घर एक करेसाबारी अभियान सञ्चालन गरिएको हो ।’
वडामा उत्कृष्ट करेसाबारी गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरुस्कार दिदै आएको अध्यक्ष खड्काले बताए । गाउँघरकै पोषणयुक्त तरकारी उत्पादन गरी आर्थिक स्थर उकास्न समेत करेसाबारी सहयोगी सिद्ध भएको उनले बताए ।

दिपक शर्मा
सल्यान

प्रतिक्रिया राख्नुहोस्

Back to top button