तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्तालाई शुद्धीकरण गरेको पानी वितरण

कैलाली। कैलालीको टीकापुर–६ नारायणपुरस्थित खानेपानी संस्थाले बुधबारबाट शुद्धीकरण गरेको पानी वितरण शुरु गरेको छ । संस्थामा जडित फिल्टरको बुधबार परीक्षण गरिएपछि उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण गर्न शुरु गरिएको हो ।

प्रतिघण्टा एक लाख ४० हजार लिटर क्षमताको फिल्टर जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरले जानकारी गराउनुभयो । “भौतिक, रासायनिक र जैविक ट्रिटमेण्ट गरेर पानी सप्लाई गर्छौं”, कुँवरले भन्नुभयो, “नारायणपुर क्षेत्रको पानीमा आइरन बढी थियो आइरन घटाएर पानी सप्लाई हुन्छ ।”
नारायणपुरमा शुद्धीकरण गरेको पानी वितरण हुन थालेपछि कैलालीका पाँच ठाउँका उपभोक्ताले शुद्धीकरण गरेको पानीखान पाएका छन् । २०५७ सालमा स्थापना भएको नारायणपुर खानेपानी संस्थाले २०७३ सालबाट उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीमार्फत त्यस क्षेत्रमा खानेपानी वितरण भइरहेको छ । “टीकापुरका ६, ७ र ९ का केही वडामा पानी वितरण भइरहेको छ ।” नारायणपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी खनालले भन्नुभयो, “अहिलेसम्म २०० घरपरिवारले मात्र धाराको पानी खाइरहेका छन् ।”

उहाँले खानेपानीका बारेमा उपभोक्ता सचेत नभएको गुनासो गर्नुभयो । यसअघि उपभोक्ता समितिले धारा जडान गर्दा रु तीन हजार ८०० लिने गरेको भए पनि अब रु सात हजार लिने निर्णय गरेको बताइन्छ । मासिक रु १०० प्रति उपभोक्ता शुल्क लिने गरिएको छ । ५० प्रतिशत रोग खानेपानीकै कारणले लाग्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
नारायणपुरमा शुद्धीकरणसहितको पानी वितरण हुन थालेपछि उपभोक्ता हर्षित भएका छन् । आइरन बढी भएको पानी पिउन बाध्य नारायणपुरका दुई हजार परिवार बासिन्दा शुद्धीकरणबाट खानेपानी मापदण्डको पिउने पानीखानी पाउने भएका छन् । फिल्टर जडानले उपभोक्तालाई सचेत गराएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button