तपाईँ सुन्दै हुनुहुन्छः

उत्तर कोरियाले २ अर्ब डलर चोरी गरेको खुलासा

बीबीसी । संयुक्त राष्ट्र संघको रिपोर्टमा उल्लेख गरिएअनुसार उत्तर कोरियाले हतियार निर्माणका लागि साइबर हमलामार्फत २ अर्ब डलर चोरी गरेको छ ।  सार्वजनिक भएको गोप्य रिपोर्टका अनुसार प्योङयोङले विभिन्न बैंक र क्रिप्टो करेन्सीलाई लक्षित गर्दै अवैध तरिकाले रकम संकलन गरेको हो । यस्तोमा संयुक्त राष्ट्रले अहिले त्यस किसिमका ३५ साइबर हमलाको अनुसन्धान गरिरहेको बीबीसीसँग बताएको छ ।

मंगलबार मात्र उत्तर कोरियाले दुईवटा मिसाइल लन्च गरेको थियो जुन दुई हप्तामा चौथो परीक्षण हुन्छ । यसबीच नेता किम जोङ उनले बुधबारको बयानमा सो प्रक्षेपण दक्षिण कोरिया र अमेरिकाका निम्ति चेतावनी रहेको उल्लेख गरेका हुन् । यी दुवै देशले सञ्चालन गर्ने संयुक्त सैन्य अभ्यासको विरुद्धमा उत्तर कोरियाले सो परीक्षण गरेको बताएको छ । प्योङयोङले उक्त अभ्यासले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै आएको छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको उत्तर कोरियाली प्रतिबन्ध समितिमा पठाइएको सो रिपोर्टमा प्योङयोङले साइबर स्पेसको दुरुपयोग गर्दै हतियारहरु बनाउन चोरी गरेको उल्लेख गरिएको छ ।  यसरी अहिले थुप्रै विशेषज्ञहरुले यस्ता साइबर गतिविधिबारे अनुसन्धान गरिरहेका छन् जसमा शक्तिशाली कम्प्युटरको प्रयोग गरि भर्चुअल करेन्सी उत्पन्न गराउन सकिन्छ ।

यसलाई विशेषगरी विदेशी मुद्रा कमाउनका लागि डिजाइन गरिएको हो । तरपनि उत्तर कोरियाले सो हमलाका लागि अपरिचित तरिका अपनाएको हुँदा स्रोतको पहिचान गर्न अत्यन्तै कठिन भएको बताइएको छ । यसका साथै उत्तर कोरियाले जहाजबाट हतियारहरु ओसारपसार गरि संयुक्त राष्ट्र संघको प्रतिबन्ध उल्लंघन गरेको समेत सो रिपोर्टमा जनाइएको छ ।

सन् २००६ देखि नै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले उत्तर कोरियामाथि कोइला, फलाम, लिड, टेक्सटाइल र समुद्री खाना निर्यात गर्न बन्द गरेको छ ।  त्यस्तै पेट्रोलजन्य उत्पादनको कारोबारमा पनि प्रतिबन्ध लगाइएको छ । गतवर्ष नेता किम जोङ उन राष्ट्रपति ट्रम्पसँगको प्रत्यक्ष भेटवार्तापछि आणविक हतियार परीक्षण बन्द गर्न सहमत भएका थिए ।

यसका साथै उनले मिसाइल पनि लन्च नगर्ने वचन दिएका थिए । तर २०१९ मा हनोइमा भएको सस्म्मेलन भने बिना सहमति टुङ्गिएको थियो । त्यसैले पनि दुवै राष्ट्रबीच निशस्त्रीकरण सम्बन्धी वार्ता अवरुद्ध भइरहेको छ तापनि गत महिना कोरियाली सिमानाको शान्ति क्षेत्रमा भेट गरि ट्रम्प र किमले आफूहरुबीच अझै राम्रो सम्बन्ध रहेको स्पष्ट पारेका थिए जसले वार्ताको सम्भावना बढाएको हो ।

यस्तोमा संयुक्त राष्ट्रको यो रिपोर्टका बारेमा अमेरिकी राज्य विभागकी प्रवक्ताले भनेकी छन्, “उत्तर कोरियाको अवैध साइबर अपराध विरुद्ध कडा कदम उठाउन हामी सबै जिम्मेवार राष्ट्रहरुलाई आग्रह गर्दछौँ जसले राजस्व उठाउन गैरकानुनी तरिका अपनाइ मिसाइल कार्यक्रम जारी राखिरहेको छ ।” यता राष्ट्रपति ट्रम्पले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button