तपाईँ सुन्दै हुनुहुन्छः

पुरातात्विक धार्मिक महत्व बोकेको गैँडाकोटमा धार्मिक पर्यटकीय वडा बनाइने

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका ऐतिहासिक, पुरातात्विक धार्मिक महत्व बोकेको क्षेत्रको रुपमा विकशित हुन थालेको छ । थुप्रै धार्मिक तथा पर्यटकीयस्थल रहेको यस क्षेत्रमा उत्तरबाट बग्दै आएकी कालीगण्डकी नदी, नारायणी नदी, शिरमा मौलाकालिका मन्दिर र मन्दिर परिसरबाट देखिने प्राकृतिक सुन्दरताले पनि यहाँ पर्यटकको आवागमन बढ्न थालेको हो ।

धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचीकृत मौलाकालिका मन्दिरसँगै ऐतिहासिक र धार्मिक महत्व बोकेका अन्य मठमन्दिर यहाँ रहेकाले उक्त मन्दिरको गुरुयोजनालाई देवघाट क्षेत्र विकास समितिको गुरुयोजनामा समावेश गरेर धार्मिक पर्यटकीय वडा बनाउने प्रक्रिया अगाडि बढाइएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

वडाको मठमन्दिरको उचित व्यवस्थापन, विकास, प्रवद्र्धन र प्रचार गर्न धार्मिक पर्यटकीय समन्वय समिति गठन गरेर काम अगाडि बढाइएको छ । उक्त वडामा मौलाकालिका मन्दिर, दक्षिण भारतीयशैलीमा निर्माण गरिएको लक्ष्मी नृसिंह दिव्यधाम, वृन्दावन प्रतीकको राधाकृष्ण मन्दिर, लक्ष्मी बैंकटेश्वर मन्दिर, कूल मन्दिरसहित २५ मठमन्दिर रहेका समितिका सचिव जगन्नाथ उपाध्यायले बताउनुभयो ।

“पवित्र तीर्थस्थल देवघाटमा आउने भक्तजनलाई पदमार्ग हुँदै मौलाकालिका ल्याउन सकियो भने पनि यहाँको धार्मिक पर्यटनको विकास हुनसक्छ”, सचिव उपाध्यायले भन्नुभयो, “अहिले पनि ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा दैनिक पाँच हजारभन्दा बढी दर्शनार्थी आउने गरेकाले प्रचारप्रसारको आवश्यकता छ।” उक्त वडामा शहरीकरणको प्रभावभन्दा पनि आवासीय क्षेत्रको रुपमा कल्पबास निर्माण भएका र सोहीअनुसार जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिक बस्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button