तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा सवारी कारवाहीबाट रु ९१ लाख राजश्व सङ्कलन

बेझाड/गत आर्थिक वर्षका पाल्पामा १५ हजार ४८ सवारी चालक कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५÷७६ मा कारवाहीमा परेका चालकबाट रु रु ९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका चार हजार २६७ ट्रक र मिनी ट्रकबाट रु २५ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार १७७ बस र मिनी बसबाट रु १८ लाख ९२ हजार, तीन हजार २१८ जीप, कार, भ्यान र माइक्रोबाट १८ लाख ८१ हजार, एक हजार ५४७ ट्र्याक्टरबाट रु नौ लाख २५ हजार २५ तथा दुई हजार ८३९ मोटरसाइकलबाट रु १८ लाख ४९ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।

आवश्यक कागजपत्र नबोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा सामान ओसारपसार गर्ने सवारी चालक कारवाहीमा परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन् ।”

आव ०७४÷७५ मा १२ हजार ८३० सवारी साधनको कारवाहीबाट रु ७९ लाख २५ हजार राजश्व सङ्कलन भएको थियो ।

सो अवधिमा कारवाहीमा परेका तीन हजार ७७० ट्रक र मिनी ट्रकबाट रु २२ लाख २३ हजार, दुई हजार ७१ बस र मिनीबसबाट रु १२ लाख ३७ हजार, दुई हजार ६४८ जीप, कार, भ्यानबाट रु १५ लाख ९४ हजार, ९९३ ट्र्याक्टरबाट रु पाँच लाख ६८ हजार ५००, तीन हजार ३३९ मोटरसाइकलबाट रु २१ लाख २२ हजार ५०० राजश्व सङ्कलन भएको थियो ।

ट्राफिक प्रहरी कार्यालय पाल्पाले बेलाबेलामा सरोकारवालासँग पुगेर ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । तर जिल्लामा सवारी साधन बढ्दै जानु र नियम मिचेर सवारी चलाउने गर्दा राजश्व बढ्दै गइरहेको पाइएको छ ।

धमाधम जनचेतना तर व्यवहारमा शून्य

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा दिनहुँजसो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर शिक्षित व्यक्ति नै दुर्घटनामा बढी पर्ने गरेका हुन् । विद्यालयस्तरबाटै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिकेको ज्ञानलाई व्यवहारमा नउतार्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

ट्राफिक प्रहरीले विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराउँदै आएको छ तर पनि प्रहरीले चलाएको अभियान सफल हुन सकेको छैन ।

ट्राफिक प्रहरीले सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ ।

अक्षयकोष स्थापना

पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफ्नो ४८ औँ जन्मदिनको अवसरमा अपाङ्गता भएका बालबालिकाको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ ।

अपाङ्गता भएका बालबालिकालाई पढाउँदै आएको तानसेनको सिबिआर विद्यालयका बालबालिकाका लागि बिहीबार रु दश हजार बराबरको अक्षयकोष स्थापना गरी जन्मोत्सव मनाउनुभएको हो ।

सो अवसरमा गरिने फजुल खर्च गरीब, विपन्न, अपाङ्गता भएका व्यक्तिको पठनपाठनमा खर्च गरियो भने उनीहरुको भविष्यमा ठूलो सहयोग मिल्ने भएकाले सहयोग गरेको अध्यक्ष बस्यालले बताउनुभयो ।

अध्यक्ष बस्यालले आफूले पाएको तलब भत्तासमेत सामाजिक क्षेत्रमा खर्चंदै आउनुभएको छ । “पाँच वर्षसम्म आफूले बुझ्ने तलब भत्ता सामाजिक क्षेत्र, गरीब, दुःखी, विपन्न, अपाङ्ग बालबालिकाका लागि खर्चनेछु”, उहाँले भन्नुभयो । बस्यालले विद्यालयमा रहेका दश जना अपाङ्गता बालबालिकालाई फलफूलसमेत वितरण गर्नुभएको छ ।

नारायण युवा क्लब तानसेनका सचिव प्रवीनराज शाक्यले पनि आफ्नो जन्मोत्सवका अवसरमा विद्यालयमा रु पाँच हजार अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

विद्यालयका अध्यक्ष राजेन्द्रमुनि शाक्यले अध्यक्ष बस्याल र शाक्यले सामाजिक हितका लागि गरेको कार्यको धन्यवाद दिँदै यसरी सबैबाट सहयोग पाएमा अपाङ्गता भएका बालबालिकाको पठनपाठनमा सजिलो हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button