मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक खाली गर्ने वा सरकारले अर्काे निर्णय गरेर यसरी अघि बढ्ने नभनेसम्म निर्माणको काम अघि बढ्न सक्दैन ।” यस सडकमा बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोध रहेको बताइएको छ । स्थानीयवासीले घरको मात्रै नभएर जग्गाको समेत मुआब्जा माग गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गाको मुआब्जा दिने सरकारको व्यवस्था नहुँदा काम अघि बढ्न सकेको छैन ।” चार दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि आगामी पुसमा सकिँदैछ । यो सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो ।