तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक वर्षमा,दश कार्यालयले गरे ८० प्रतिशतभन्दा कम बजेट खर्च

स्याङ्जा। आर्थिक वर्ष ०७५/०७६ मा ८० प्रतिशतभन्दा कम वित्तीय प्रगति गर्ने कार्यालय दशवटा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

पूँजीगत बजेटको ८० प्रतिशतभन्दा कम वित्तिय प्रगति गर्ने कार्यालयमध्ये संघअन्तर्गतका जिल्ला अदालत, जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन, मालपोत कार्यालय स्याङ्जा, मालपोत कार्यालय वालिङ, नापी कार्यालय वालिङ र इलाका प्रशासन कार्यालय वालिङ ६ ओटा कार्यालय रहेका छन्। यीमध्ये इलाका प्रशासन कार्यालय वालिङले सबै भन्दा कम २७.१७ प्रतिशत वित्तिय प्रगति गरेको देखिएको छ।

यसैगरी प्रदेश स्तरका कार्यालयमध्ये घरेलु तथा साना उद्योग, कृषि विज्ञान केन्द्र, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छन् । प्रदेश कार्यालयअन्तर्गतका मध्ये जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जम्मा १८.५२ प्रतिशत मात्रै वित्तिय प्रगति देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख खेमराज घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा संघ र प्रदेश सरकारबाट चालु र पूँजिगत गरी ७ अरब ८३ करोड ७ लाख ६७ हजार ४ सय ६७ रुपैयाँको अख्तियारी पाएकोमा ९४.०५ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । असारमा मात्रै एक महिनामा १ अरव २६ करोड ९८ लाख ७२ हजार २ सय ३३ रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको १६.२२ प्रतिशत हो ।

जिल्लामा रहेका ११ वटा स्थानीय तहले प्रदेश सरकारबाट अख्तियारी प्राप्त रकम शत प्रतिशत खर्च भएको पाइएको छ । संघीय सरकार तर्फको ९९.१० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । स्थानीय तहमध्ये वालिङ नगरपालिका ९६.४० प्रतिशत निकासा गरेर जिल्लाका अन्य स्थानीय तहभन्दा कम निकासा गर्ने स्थानीय तहमा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button