तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने

काठमाण्डौ । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उहाँहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ ।

सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात व्यवस्था विभाग पुगेका अग्रज समाज नेपाल र ज्येष्ठ नागरिक सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटघाटका क्रममा विभागले सो प्रतिबद्धता जनाएको हो । विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले विगत एक दशक पहिलेदेखि अनुगमन हुँदै आएकामा आगामी दिनमा अझै बढाइने बताउनुभयो ।

सवारी साधनले ज्येष्ठ नागरिकका लागि सिट आरक्षण नगरेर वा ५० प्रतिशत छुट नदिँदा कारवाही गरिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकसमेत सङ्लग्न गराएर अनुगमन गराइने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले शुरु गरेर दशैँलगायतका चाडपर्वमा अनुगमन बढाइनेछ ।”

समितिका अध्यक्ष महाप्रसाद पराजुलीले काठमाडौँ उपत्यका भित्र छुट र आरक्षण सिट पूर्णरुपले कार्यान्वयन नभएको बताउनुभयो । काठमाडौँ उपत्यका बाहिर जाने लामो दुरीको यातायातमा भने छुट र आरक्षण सिट कार्यान्वयन नै नभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले कार्यालयले नियमित अनुगमन गर्दा कार्यान्वयन भए पनि अहिले अनुगमन पातलो हुँदा छैन ।”

संस्थाका उपाध्यक्ष सीताराम ढकालले संस्थाले विसं २०६७ देखि नै नियमित रुपमा सरकारलाई ज्येष्ठ नागरिकलाई दिनुपर्ने सुविधाका विषयमा घचघच्याइरहेको बताउनुभयो । विभागका निर्देशक बन्धुप्रसाद बाँस्तोलाले पहिले यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विभागको भए पनि अहिले प्रदेश सरकारको भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button