तपाईँ सुन्दै हुनुहुन्छः

इतिहासविद् तथा अनुसन्धाता दासको निधन

सप्तरी-इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा सोमबार सप्तरीको राजविराजस्थित निवासमा निधन भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधन भएको उहाँका भाइ प्राध्यापक जुगेश्वरलाल दासले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षसम्म सेवा गरी अवकाश जीवनयापन गर्दै आउनुभएका दास विगत केही वर्षदेखि मुटु तथा मधुमेहलगायतका रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा विसं २०७४ वैशाख २७ गते इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानले सम्मानित दासलाई संस्कृति क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत २०७४ पुस ११ गते १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा मिथिला रत्न उपाधिबाट सम्मानित गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट विसं २०४८ मा सम्मानित दास युनिभर्सल पिस फेडरेशनबाट सन् २०१५ मा शान्तिदूत र मैथिली साहित्य परिषद्बाट विसं २०६९ मा शिवदत्त स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो । गहन अध्ययन–अनुसन्धान एवं शोध तथा कृति प्रकाशन गरेवापत दासलाई एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको उहाँका भाइ जुगेश्वरलाल दासले बताउनुभएको छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विसं २०६० मा दासको ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु ः एक अध्ययन’ र साझा प्रकाशनबाट विसं २०६७ मा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित छन् । ऐतिहासिक गढीहरुका अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा दासको अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रकाशित छन् ।

उहाँको कक्षा १० को मैथिली विषयको पाठ्यपुस्तकमा ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ । सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवं प्राचीन इतिहासबारे गहन अध्ययन अनुसन्धान गर्नुभएका उहाँको विसं २०५८ मा पहिलो कृतिको रूपमा ‘सप्तरीको राजनीतिक इतिहास एवं प्रमुख धार्मिकस्थलहरु’ लगायत आधा दर्जन पुस्तक प्रकाशित छन् ।

पिता जयनारायणलाल दास ‘बच्चाबाबु’ र आमा अनसुया देवीको कोखबाट सन् १९४१ नोभेम्वर १४ का दिन सप्तरीको साविक मलेठ गाउँ विकास समितिको वडा नं ६ स्थित गढीयागाउँमा जन्मनुभएका इतिहासविद् दासको श्रीमती विद्यादेवी दास, दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप छन् । मैथिली साहित्य परिषद् र चित्रगुप्त सेवा समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका दासले मिथिला क्षेत्रमा रहेका ऐतिहासिकस्थल तथा पुरातात्विक महत्वका स्थलहरुको संरक्षण संवद्र्धनमा सदैव जोड दिनुभयो । दासको अन्तिम संस्कार पैतृकगाउँ गढियामा आज गरिने उहाँकी श्रीमती विद्यादेवीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button